FRIDAY MAY 01, 2026

स्वतन्त्र पत्रकार संघमा नयाँ नेतृत्व चयन

स्वतन्त्र पत्रकार संघ नेपालको १४औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले बास्तोलालाई पुनः अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। बास्तोलाको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा:

  • उपाध्यक्ष: तिर्सना (लक्ष्मी) गुरुङ
  • महासचिव: सुरेश श्रेष्ठ
  • सचिव: कल्याण पन्त
  • कोषाध्यक्ष: नमस्कार शाह

त्यसैगरी सदस्यहरूमा युक्तप्रसाद सुवेदी (बागलुङ), कृष्णबहादुर रानाभाट (कास्की), योगेश खपाङ्गी (झापा), प्रेमध्वज लामा, सुरेशप्रसाद सैंजु (भक्तपुर) र सागर कार्की (कास्की) निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा पोखराका अग्रज पत्रकार उदयबहादुर अमात्यलाई २५ हजार रुपैयाँ राशिको ‘सामाजिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै अमात्यले स्वतन्त्र पत्रकारिताको आवश्यकता औंल्याउँदै भने: “पत्रकारिता स्वतन्त्र हुनुपर्छ, र पत्रकार स्वयं उदाहरण बन्नुपर्छ।” उनले निष्पक्ष पत्रकारिताले मात्र समाजमा विश्वास कायम गर्ने धारणा व्यक्त गर्दै पत्रकारहरूलाई कुनै राजनीतिक प्रभावबाट मुक्त रहन आग्रह गरे।

संघ अध्यक्ष बास्तोलाले संस्थाको स्थापना पृष्ठभूमि स्मरण गर्दै २०६८ सालमा पत्रकार महासंघभित्र देखिएको दलीय भागबण्डाको विरोधबाट संघको सुरुवात भएको बताए।

उनका अनुसार:

  • संघ अहिले २९ जिल्लामा विस्तार भइसकेको छ
  • निष्पक्ष र व्यावसायिक पत्रकारहरूको साझा मञ्चको रूपमा विकास हुँदै गएको छ, बास्तोलाले स्पष्ट रूपमा भने: “पत्रकारले मतदान गर्नुबाहेक अन्य समयमा राजनीतिक आस्था प्रदर्शन गर्नु हुँदैन।”

उनले पत्रकारितामा घट्दो सम्मानको मुख्य कारण स्वतन्त्रताको अभाव भएको उल्लेख गर्दै यसलाई सुधार गर्न संघ प्रतिबद्ध रहेको बताए। निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै बास्तोलाले आधुनिक पत्रकारितामा डिजिटल सीप अनिवार्य भएको बताए। उनले भने:

  • स्वतन्त्र पत्रकारिताको मुख्य उपलब्धि ‘आत्मसन्तुष्टि’ हो
  • निष्पक्ष समाचारले कसैलाई हानि पुर्‍याउनु हुँदैन
  • स्वतन्त्र पत्रकारिताबाट पनि पेशागत जीवन सम्भव छ

अधिवेशनमा देशका ११ जिल्लाबाट ६० जना प्रतिनिधिको सहभागिता रहेको थियो।

Facebook Comments