FRIDAY MAY 01, 2026

विशेष टिप्पणी : देशको नेतृत्व नाति पुस्ताको काँधमा

बालेन्द्र शाह प्रधानमन्त्री भएसँगै अब देशको नेतृत्व नाति पुस्ताको काँधमा आएको छ ।

शुक्रवार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई शपथ ग्रहण गराएसँगै त्यो पुष्टि भएको छ ।

राष्ट्रमा बहुदलीय शासन प्रणाली स्थापनापछि जन्मिएका शाह नेपालको संविधान २०७२ को धारा ७६ को १ अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री नियुक्त भएको पहिलो पटक हो ।

शाह झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । उनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । १५ सदस्यीय मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित १० जना ४० वर्ष मुनिका रहनुले नाति पुस्ताको नेतृत्वलाई संकेत गर्दछ ।
मन्त्रिपरिषदमा स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय, सुधन गुरुङले गृह मन्त्रालय, शिशिर खनालले परराष्ट्र मन्त्रालय, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् भने खड्कराज पौडेल गनेशलाई पर्यटन, सस्मित पोखरेललाई शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी विक्रम तिमिल्सिना सञ्चारमन्त्री बन्दा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम रोजगार मन्त्री, सोविता गौतम कानुन मन्त्री,  गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बनेका छन् ।

जसमा गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री मेहता ३८ वर्षका रहेका छन् भने प्रधानमन्त्री शाह ३६ का । भौतिक पूर्वाधार मन्त्री लम्साल ३५, श्रममन्त्री शाह ३४, कृषिमन्त्री चौधरी र सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ३२ वर्षका रहेका छन् । कानुनमन्त्री गौतम र महिला मन्त्री वादी ३० वर्षका हुन् भने शिक्षामन्त्री सम्मित पोखरेल २९ वर्षका भए । जसबाट नाति पुस्ताको नेतृत्व प्रष्ट हुन्छ ।

२०८२ भदौ २३ गतेसम्म देशका हरेक क्षेत्रमा राजनीतिक दादागिरीको डर लाग्दो अवस्था थियो । मानौँ देशमा तीन पाटीका जुका र खुर बाहेकका नागरिकको अस्तित्व नै छैन । पूरापुर निषेधको राजनीति, देशभर भागवण्डा । थियो । त्यसमा पनि बुढ्यौली उमेरका सांसद, जो २००७ सालको परिवर्तन पछि घुमिफिरी राइदाँइ गरिरहेका थिए ।
सामान्य परिश्रममा पाखुराको पौरखमा बाँच्नेहरूका लागि यस्तो पनि देश हुन्छ ? भन्ने चिन्तन जगाउने परिवेशमा एउटा सामान्य नागरिकले भोग्नु परेका वडा, पालिकादेखि मन्त्रालसम्मका घिनलाग्दा दृष्टान्त छ्यापछ्याप्ती देखिन्थे । नागरिकमात्र नभएर एउटा स्वतन्त्र लेखक, साहित्यकार, पत्रकार व्यक्तित्वको अवस्था त्यो भन्दा दर्दनाक, उस्तै तीन दलको हाली मुहाली, व्याप्त हुँदा चारैतिर वेथिति दिनप्रतिदिन बढ्दो थियो ।
देशभरबाट विभिन्न क्षेत्रका सुधारका मार्गनिर्देशन दिने विज्ञहरूसमेत विवेक, कला र कौशलका माध्यमबाट उत्कृष्ट हुँदासमेत भित्ता लाग्नुपर्ने पीडामा बाँच्न परेपछि कसरी चल्नु, कसरी चलाउनु पाइला एउटा स्वतन्त्र नागरिकले ? कसरी बाँच्नु आत्मसम्मानपूर्ण जीवन भन्ने चिन्तामा परिरहेका थिए ।
२०८२ फाल्गुन २१ गतेको निर्वाचन कुनै आधी, हावाहुरी र सुनामी नभइकन स्वाभिमानी नेपालीको सरापले बडारिएकाहरू पाँच वर्षमा सप्रिएको देख्न पाइने र  राष्ट्रमा बहुदलीय शासन प्रणाली स्थापनापछि जन्मिएका बालेन्द्र शाह प्रधानमन्त्री भएसँगै नाति पुस्ताको काँधमा आएको देशको नेतृत्वले सारा नेपालीलाई राहत दिने आशा सारा नेपालीमा जागेको छ ।
तस्वीर साभार : अनलाइन खबर
Facebook Comments