शान्ति निकेतनमा संस्कृत र चिनियाँ भाषा पढाइने
पोखरा-५ स्थित शान्ति निकेतन स्कुलले नयाँ भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ ।
आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठन बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कुलले यसबारे जानकारी गराएको हो ।
संस्थापक एवं प्राचार्य डा. महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग सहकार्य गरिएको पनि खुलासा गरे ।
पत्रकार सम्मेलनमा उपस्थित प्रतिभा मावि सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले उत्कृष्ट नतिजा ल्याइरहेको शान्ति निकेतनसँग सहकार्य गरी अघि बढ्न लागेको जानकारी दिए ।
२०६२ सालमा स्थापित स्कुलले २० वर्षे शैक्षिक यात्रामा गर्व गर्न लायक उपलब्धि हासिल गरिसकेको प्राचार्य पराजुलीले जानकारी दिए ।
एकलधारामार्गमा अवस्थित यो विद्यालय अब १५ करोड लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन बनाएर धारापानी मार्गमा विस्तार गर्न लागेको स्कुलले जनाएको छ । करीब ६० करोड बजार मूल्य बराबरको जग्गामा १५ करोड लगानी गरी एक वर्षभित्रै द्रुतगतिमा निर्माण कार्य अघि बढाएर विद्यालय भवन सम्पन्नको अन्तिम चरणमा रहेको प्राचार्य पराजुलीले बताए ।
अत्याधुनिक प्रविधियुक्त भवन अपाङ्गता मैत्री बनेको स्कुलले जनाएको छ । बालबालिकाहरूका लागि लिफ्टको व्यवस्थाका साथै अण्डरग्राउण्ड पार्किङस्थल, बास्केटबल कोर्ट, फुटसल, क्रिकेट प्राक्टिस नेट, स्वच्छ एवं स्वस्थ क्यान्टीन, अतिरिक्त क्रियाकलापका लागि ३ सय जना क्षमताको श्रव्य दृश्य कक्ष, अत्याधुनिक आइसीटी ल्याब, साइन्स ल्याब, लाइब्रेरीलगायतका सुविधाहरू थप गरी शिक्षण पद्धत्ति अनुसन्धानमूलक र खोज विधिमा आधारित बनाइने विद्यालयले जनाएको छ ।
स्मार्ट क्लास रूम, विभिन्न डिजिटल उपकरण, कम्प्युटर ल्याब, साइन्स ल्याब, वल्र्ड क्लास डिजिटल लाइब्रेरी, इन्फर्मेसन टेक्नोलोजीका माध्यमबाट शिक्षण सिकाइ हुने प्राचार्य पराजुलीले बताए । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद नेतृत्व विकासका साथै नृत्य, कला, सङ्गीत, नाटक, योगा, चिनियाँ र संस्कृत भाषाका कक्षालाई थप प्रभावकारी बनाउँदै विद्यालयलाई डिजी स्कुलका रूपमा विकास गरिने उनले बताए ।
निकट भविष्यमा प्राविधिक धारमा स्नातक तहका कथाहरू सञ्चालन गर्ने लक्ष्य राखिएको र यसका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको स्कुलले जनाएको छ ।
’पछिल्लो समयमा हराउँदै गएको मानवता र नैतिकता बढाउन परोपकार र संस्कारजन्य विषयवस्तुहरूमा विद्यार्थीहरूलाई जागृत गराउने हाम्रो लक्ष्य रहेको छ। विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने हाम्रो मूलभूत उद्देश्य रहनेछ। विश्व बजारमा सबल, सक्षम र भविष्यमा पेशागत हिसाबले प्रतिस्पर्धी नागरिक उत्पादन गर्न मुख्य ध्येय रहनेछ।’ उनले भने ।
शान्ति निकेतन सञ्चालक समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सल्लाहकार पुरूषोत्तम पराजुलीले गरेका थिए ।
