TUESDAY APR 21, 2026

कस्केली अधिकृत समाजको अध्यक्षमा सुवेदी निर्वाचित

११ माघ, पोखरा । कस्केली अधिकृत समाज कास्कीको शनिवार सम्पन्न ११ औं साधारणसभा तथा आठौं अधिवेशनले चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा महेश पौडेल, सह-सचिवमा वासुदेव पौडेल, कोषाध्यक्षमा शीला बराल सापकोटा  निर्वाचित भएका छन् । यसैगरी समिति सदस्यमा अनिलकुमार शाही, सुमित्रा मल्ल उदास, मैया पराजुली, वसन्त चालिसे, चन्द्रवती अधिकारी वाग्ले, अनिल सुवेदी, सन्ध्या पौडेल र अमृत कँडेल रहेका छन्।

दुर्गाबहादुर शाह ‘बाबा’ संयोजक रहेको निर्वाचन समितिले नवनिर्वाचित टोलीलाई पद तथा गोपनीयताको शपथ गराएको थियो।

संस्थाको मुखपत्र अधिकृत आवाजको लोकार्पणसहित सभाको उद्घाटन  गर्दै प्रदेश लोकसेवा आयोग गण्डकीका अध्यक्ष विष्णुप्रसाद नेपालले समाजले कास्की जिल्ला मात्र नभई समग्र गण्डकीकै नेतृत्व लिनुपर्ने बताए। उनले सुशासन र सभ्य समाज निर्माणमा संस्थाको गरिमा उच्च राख्नसमेत आग्रह गरे।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप-कुलपति प्रा.डा .भरतबहादुर खत्रीले फुर्सद सबैभन्दा ठूलो रोग रहेकाले त्यसतर्फ ख्याल गर्दै अगाडि बढ्न समाजमा नैतिक शिक्षा अपरिहार्य रहेको औंल्याए।

अधिकृत आवाज-११ को समीक्षा प्रा.डा .राजेन्द्र चापगाईं आहतले  गर्दै सिर्जना र साहित्य दुवैको संगमकारूपमा अधिकृत आवाज बजारमा आएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतम, पूर्वकर्मचारी परिषद् गण्डकीका उपाध्यक्ष सूर्यप्रसाद बराल, कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यलगायतले शुभकामना मन्तव्य राखे।

संस्थापक र उत्कृष्ट पदाधिकारी सम्मानित

सोही समारोहबीच संस्थाले स्थापनाकालीन समितिका अध्यक्ष शिवप्रसाद पराजुली, पहिलो कार्यसमितिका अध्यक्ष इ. कृष्णकान्त सिग्देल साथै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सचिव महेश पौडेललाई सम्मानपत्र तथा दोसल्लासहित  सम्मानसमेत गरियो ।

समाजका सल्लाहकार देवेन्द्र के.सी .र सदस्य वसन्त चालिसेले कवितावाचन गरेको कार्यक्रममा अध्यक्ष चन्द्रबहादुर सुवेदीले निजामती र सार्वजनिक संस्थानका कर्मचारीहरूको प्रतिनिधित्व रहेकाले समाज बहुआयामिक भएको बताए।

Facebook Comments