कस्केली अधिकृत समाजको साधारणसभा तथा अधिवेशन माघ १० गते
कस्केली अधिकृत समाजको ११औँ साधारणसभा तथा आठौँ अधिवेशन यही माघ १० गते पोखरामा हुने भएको छ।
पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा साधारणसभा तथा अधिवेशन आयोजना गर्ने तयारी भइरहेको समाजका सचिव महेश पौडेलले जानकारी दिए। अधिवेशनका अवसरमा समाजद्वारा प्रकाशित अधिकृत आवाज २०८२ (अङ्क–११) को लोकार्पणसमेत गरिने भएको छ ।
‘अधिकृत आवाज’ का प्रधान सम्पादक दुर्गाबहादुर शाह ‘बाबा’ र सम्पादकहरूमा चन्द्रबहादुर सुवेदी, देवेन्द्र केसी ‘देवु’, ऋषिराम लामिछाने र वसन्त चालिसे रहेका छन् । त्यस्तै, पत्रिकाको प्रकाशन तथा व्यवस्थापन समितिको संयोजकमा महेश पौडेल र समितिका सदस्यहरूमा विष्णुप्रसाद पोखरेल, सुमित्रा मल्ल उदास, अनिलकुमार शाही, वासुदेव पौडेल, सन्तोष ढुङ्गाना र चन्द्रवती अधिकारी वाग्ले छन् ।
साधारणसभा तथा अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न चारवटा उपसमिति गठन गरिएको छ। उपसमितिका संयोजकमा समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल र सदस्य सन्तोष ढुङ्गाना रहेका छन् ।
यसैबीच, साधारणसभा तथा अधिवेशनको तयारीका सम्बन्धमा आज बसेको कार्यसमिति बैठकमा हालसम्मको कार्यकालको समीक्षा गरिएको छ। समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता तथा सचिव महेश पौडेलको सञ्चालनमा सम्पन्न बैठकमा सल्लाहकारहरू दुर्गाबहादुर शाह ‘बाबा’, प्रेमप्रकाश गौतम, विश्वनाथ पराजुली र विष्णुप्रसाद बरालसहित पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। बैठकमा वक्ताहरूले समाजको गरिमा र महिमालाई अझ उचाइमा पुर्याउन निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए ।
