TUESDAY MAY 26, 2026

भ्रम चिर्न सत्य खोज्न आग्रह

३० पौष, पोखरा।

प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा भ्रमपूर्ण तथा मिथ्या पूर्ण सूचनासम्बन्धी सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पोखरामा बुधबार आयोजित अन्तरक्रियाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले  सूचना प्रविधिको तीव्र विकासले संसारलाई ग्लोबल भिलेज बनाएको बताए । थापाले भ्रमपूर्ण सूचनालाई आधुनिक समाजको सबैभन्दा घातक रोगका रूपमा चित्रण गर्दै भने  ‘सत्य समाचारसँगै गलत र भ्रामक सूचना फैलिँदा यसको प्रत्यक्ष असर सामाजिक सद्भाव र युवाको सोचमा परेको छ।’

अन्तरक्रिया कार्यक्रममा सेन्टर फर मिडिया रिसर्च नेपालका प्रमुख उज्ज्वल आचार्यले नेपालमा मिथ्या सूचनाको वर्तमान अवस्था तथ्याङ्कसहित प्रस्तुत गर्दै यसले व्यक्तिगत जीवनदेखि लोकतान्त्रिक संरचनासम्म कमजोर बनाइरहेको जानकारी गराए । वागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले मूलधारका मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताको भूमिकामाथि जोड दिँदै मिडियाले गेटकिपिङ र तथ्य परीक्षण बिर्सदा समाज दुर्घटनातर्फ धकेलिदै गएको धारणा व्यक्त गरे ।  गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले मिथ्या सूचनाबाट जोगिन व्यावहारिक उपायहरू प्रस्तुत गरिन्।

कार्यक्रममा न्यूनतम् पारिश्रमिक निर्धारण समितिका सदस्य वासुदेव मिश्र, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, गैरसरकारी महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, नियोक गण्डकीका अध्यक्ष विष्णु बराल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रमुख सचिव डन्डुराज घिमिरेलगायतले आफ्ना धारणा राखेका थिए ।

अन्तरक्रियापछि आयोजक संस्थाले १० बुँदे प्रतिबद्धतापत्रसमेत जारी गरेको छ ।

Facebook Comments