लगातारको झरीले जनजीवन अस्तव्यस्त, आइतवार र सोमवार बिदा

१८ असोज, स्याङ्जा। शुक्रवारदेखिको अविरल झरीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
झरीका कारण विभिन्न राजमार्ग र सडक अवरुद्ध हुँदा सरकारका विभिन्न निकायले सुरक्षा सतर्कता अपनाउन आह्वान गरिरहेका छन् भने केही सडकमा आवतजावत गर्नसमेत रोक लगाइएको अवस्था छ ।
झरीका कारण काठमाडौँको नागढुंगा र चन्द्रागिरीबाट काठमाडौं बाहिर जाने राजमार्ग रोकिएको जनाइएको छ ।
नागढुंगा–मुग्लिन राजमार्गका साथै मकवानपुर जाने चन्द्रागिरीको सडकमा सवारीसाधन चलाउन केही समय रोकिएको प्रहरीले जनाएको छ ।
झरीका कारण काभ्रेको बीपी राजमार्ग र अरनिको राजमार्गमासमेत सवारीसाधन चल्न सकेका छैनन । झरीका कारण जोखिम हुने भएपछि प्रहरीले धुलिखेलदेखि दोलालघाट र सिन्धुपाल्चोकसम्मको सडकमा सवारीसाधन रोकेको हो ।
यता रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ को घट्टेखोलामा सुख्खा पहिरोले गर्दा सडक अवरुद्ध छ भने रसुवाकै बालुवाखानी, तातोपानीको सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आइतवार र सोमवार बिदा
सरकारले आइतवार र सोमवार बिदा दिने निर्णय गरेको छ । आइतवारदेखि सरकारी कार्यालयहरू खुल्ने तयारी भइरहेको वेला देशभर आएको अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै बिदा गरिएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्ट र राजमार्गहरूमा निरन्तर खसेको पहिरो लाई ध्यानमा राख्दै सरकारबाट बिदा दिने निर्णय भएको हो ।
कार्यालय प्रमुखलाई कार्यस्थल पुग्न र अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन निर्देशन
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशित गर्दै कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न भनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । यो अवस्थामा आ–आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ सम्ममा अनिवार्यरूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको छ ।
कार्यस्थल पुगेर पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।
यसैबीच, सरकारले विभिन्न राजमार्गमा अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन दिइएको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेशप्रसाद भट्टले जानकारी दिए ।