विरोधी चोकमा चौतारी निर्माण

१७ असोज, पोखरा । पोखराको पर्यटकीय गाउँ घार्मी पुग्ने पर्यटक तथा बटुवालाई लक्षित गरी चौतारी निर्माण गरिएको छ ।
घार्मी अमला बिसौनी सडक खण्डको विरोधी चोकमा ढाडाँपाखा सुन्दर वनबाटिकाको जंगल क्षेत्रमा वर पिपलसहितको चौतारी निर्माण गरिएको हो।
पोखरा १६ पुजारी थर निवासी समाजसेवी विष्णुप्रसाद अधिकारी र लक्ष्मी अधिकारीले आफ्नै खर्चमा सामुदायिक वन उपभोक्ता समितिको पहलमा उक्त चौतारी निर्माण गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए ।
अधिकारी परिवारले करिब तीन लाख रुपैयाँको लागतमा निर्माण एको चौतारीबाट दैनिक मर्निङवाकका निस्कने व्यक्ति र पर्यटकलाई विश्राममा सहज हुने भएको छ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वर पिपलसहितको चौतारी प्राचीन धार्मिक संस्कृति र सभ्यताको पहिचान भएको बताउँदै, यस्ता सम्पदाको संरक्षण तथा पुनर्निर्माणमा जोड दिनुपर्ने धारणा राखे ।
चौतारी निर्माणकर्ता विष्णुप्रसाद अधिकारीले चौतारी निर्माणले यस क्षेत्रमा ओहोरदोहोर गर्ने व्यक्तिलाई सहज हुने बताए ।
समाजसेवी कृष्णप्रसाद अधिकारी, रमेश अधिकारी, विष्णुप्रसाद आचार्य, वन समितिका अध्यक्ष पुष्पराज अधिकारीलगायतले चौतारी निर्माण हुनु पुण्य कार्य भएको भन्दै उक्त कार्यको प्रशंसा गरे।
सो स्थानमा प्रतिक्षालय र खानेपानीसमेतको समस्या रहेकाले पुरानो प्रतिक्षालय निर्माणका लागि पहल भइरहेको अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए ।