मध्य भदौसम्म कोदो रोप्छ मध्यनेपाल

- असफल गौतम
१० भदौ, पोखरा । २०८२ भाद्र ९ गते नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको दर खाने दिन । कैंँयौँ दिदीबहिनी सोह्र शृङ्गारले सजिएर दर खान दौडिरहेका थिए ।
कोही सञ्जालका रिल, सर्ट र टिकटकका भाइरल कन्टेन बन्ने अभिलाषाले नाँच्न ,गाउन, बजाउनमा रमाउँदै थिए । तर गण्डकी प्रदेशको लमजुङ जिल्ला अन्तर्गत मध्यनेपाल नगरपालिकावासी दिदीबहिनीलाई भने दर भन्दा कोदो रोपेर सक्ने हुटहुटीले अत्याइरहेको थियो । उनीहरू हुरी बाँधे झैँ बारीमा कोदो रोप्न मै व्यस्त देखिन्थे ।
गाउँघरमा खेती किसानी गर्दा हुरी लगाउने पुरानो चलन हिजो आज विस्तापित भइसकेको अवस्थामा सोमवार काउरेमा देखिएको दृश्यले पुरानो झल्कोसमेत दिलाएको अनुभूत हुन्छ ।
गुरुङ समुदायको वाक्लो वस्ती रहेको मध्यनेपाल नगरपालिका-६ को काउरेमा चर्को घाममा छत्री ओढेरै कोदो रोप्नमा रमाइरहेका दिदीबहिनीको खुसीमा दाजुभाइले पनि सघाइरहेका थिए ।
महिना दिन अगाडिदेखि चाडपर्व मनाउन पार्टी प्यालेस, होटल तथा रेष्टुरामा भेला हुने दिदीबहिनीहरूमा प्रचण्ड गर्मीकोसमेत प्रवाह नगरी यसरी कोदो रोप्न उत्साहित गराउन नेपाल सरकारको पछिल्लो कदमलेसमेत थोरबहुत उत्प्रेरणा थपेको आँकलन गर्न सकिन्छ ।
किनकि नेपाल सरकारको २०८२ असार २३ गतेको मन्त्रिपरिषद्को निर्णयले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको छ ।सरकारले कोदो दिवस मनाउने निर्णयसँगै ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ नाराका साथ पहिलो कोदो दिवस मनाउन सबैलाई अनुरोध गर्यो । सोही निर्णयलाई हृदयङ्गम गरी देशभर कोदो दिवस मनाइयो । त्यसमा मध्यनेपालवासीले ऊर्जा थपे, मध्यनेपाल–१० थान्सिङ कोटगाउँको कोदो रोपाई राष्ट्रिय समाचार समितिको आँखामासमेत पर्यो ।
लमजुङको क्ल्होसोथार-९ टक्सारमा जन्मेर हाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङकै गृहजिल्लाको एउटा पालिका चाडपर्वसमेत नभनेर कोदो उत्पादनमा लाग्नुले सरकारले राखेको लक्ष्य पूरा गर्नमासमेत सहायता पुग्ने देखिन्छ ।
(मन्त्रिपरिषद्को निर्णय र कोदो दिवसको नारा)
कोदो नेपालको रैथाने बाली भएकाले ७७ वटै जिल्लामा खेती गर्न सकिन्छ । जसका लागि निकै उर्वर भूमिसमेत आवश्यक पर्दैन । हिजो दुःखीको अन्न भनेर हेय भावले हेरिने कोदो पछिल्लो अस्तव्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण विभिन्न रोगले च्याप्दै जान थालेपछि मानिसहरू अर्गानिक रैथाने खानपानतर्फ आकर्षित देखिँदा कोदो सम्पन्न परिवारको रोजाइको खाना बन्न पुगेको अवस्था छ ।
नेपालमा उत्पादन हुने खाद्यवालीमध्ये कोदो उत्पादन र खेती गरिएको क्षेत्रफलको आधारमा चौथौँ खाद्यान्न वाली हो । पोषण सुरक्षाका हिसाबले महत्त्वपूर्ण र वातावरणमैत्री वाली कोदोबाट हिजोका दिनमा रोटी, ढिँडो, खोले, सातु, जाउलोजस्ता परम्परागत परिकार मात्र बन्थे । आज कोदोकै ब्रेड, केक, डोनट, मःम, पिज्जा, कुकिज, बिस्कुट, चाउमिनजस्ता परिकार बन्न थालेपछि धनाढ्य र नवधनाढ्यहरूका लागि कोदो सुपर तथा स्मार्ट फुड बन्दै लोकप्रिय भोजन बन्न थालेको पाइन्छ ।
विभिन्न मेला महोत्सवहरूमा कोदोबाट निर्मित दाम्लेमिठाई, नमकिन, पकौडा, लड्डु, सेफाली, खुर्मा, फुरौला, जेरी, कसार, पुवा, सेलरोटी, सुत्केरी मसला, पुरी, कपकेक, सुप, अचार, खोले, छ्याङ, तीनपाने, तोङ्वालगायतका परिकार प्रदर्शनीमा राखिएका पाइन्छन् ।
भन्सार विभागको पछिल्लो तथ्याङ्क हेर्ने हो भने जसरी नेपालमा दिन प्रतिदिन युवा पलायनको ग्राफ चुलिँदो छ, त्यस्तै देखिन्छ कोदो आयातको ग्राफ। किनभने, आर्थिक वर्ष २०७७/७८ मा तीन करोड ९९ लाख २३ हजारको कोदो आयात भएकोमा ०७८ मा सात करोड १५ लाख २७ हजारको कोदो आयात भएको देखिन्छ । तर ०७९/०८० पछाडि त्यो ग्राफ यसरी बढ्यो, जुन तथ्य हेर्दा यो सत्य नै हो भनेर आश्चर्य मान्नुपर्ने अवस्था सिर्जना भयो । ०७९ मा ७३ करोड २० लाख १३ हजारको, ०८० मा ७५ करोड ४४ लाख रुपैयाँ र ०८१ मा ७६ करोड ६३ लाख ८६ हजार बराबरको कोदो आयात हुनु नेपालीका लागि रुचिकर लाग्ने विषय बन्न सक्दैन ।
पछिल्लो समय नेपालमा दिन दुई गुना, रात चार गुना कोदोको माग बढ्दो, उत्पादन घट्दो छ । विना झन्झट हरेक परिवारले सहजै उत्पादन गर्न सक्ने रैथाने बाली उत्पादनको मात्रा घट्नु नेपालीका लागि निकै दुःखद सन्दर्भ हो । यो मात्र होइन, हिजो १२ प्रजातिका कोदोजन्य बाली लगाइने गरेकोमा हाल कोदोका छ, कागुनोलगायतका अन्यसहित आठ थरी प्रजातिमात्र उत्पादन हुने गरेको नेपाल कृषि अनुसन्धान परिषद् नार्कको तथ्याङ्कले देखाउँछ ।
जम्मा छ हजार दुई सय घरधुरी रहेको मध्यनेपाल नगरपालिकालाई साच्चै सरकारले अब रैथाने बाली उत्पादन पकेट क्षेत्र बनाएर अगाडि बढाउने गुरुयोजना थाल्नुपर्ने समयको माग बनेर आएको छ ।
(पालिकाको प्रतिवेदन पुस्तिका)
पालिकाले धानवाली प्रवद्र्धन, खाद्यान्न वालीको उन्नत विऊ उपयोगमा अनुदान, किसान सूचीकरण कार्यक्रम, मौरी पकेट विकास कार्यक्रम र रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । जसमा मौरी र रैथानी वालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको वार्षिक प्रतिवेदनबाट देखिन्छ । यसैगरी, कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ जारी गरेर कृषिलाई व्यवसायसँग जोड्ने अभियानमा पालिका अगाडि बढिरहेको अवस्थामा रैथाने वालीको उत्पादन बढाउन निर्ममतापूर्वक समीक्षा आवश्यकता देखिन्छ ।
वडा नं. ८ को डडुवामा कृषि ज्ञान केन्द्रले काउनो उत्पादनका लागि एकलाख ५० हजार बराबरको अनुदान सहयोग गरेको पाइन्छ । ३६ जना महिला दिदीबहिनीको कुवापानी बास्कोटे कृषक महिला समूहमार्फत् परिचालन गरिएको उक्त अनुदानलाई भरपुर सदुपयोग गरेर समूहले यो वर्ष २८–३० क्विन्टर काउनो उत्पादन गरेको देखिन्छ । जुन समूहकी अध्यक्ष राममाया गुरुङको कुशल नेतृत्वले उक्त समूहलाई गतिशील बनाउँदै अगाडि बढेको देख्न पाइन्छ ।
दिदीबहिनीको समूहलाई रैथाने बाली उत्पादनमा सहज होस् वर्तमान प्रविधिको योगमा पनि काउनो खुट्टाले माड्नुपर्ने अवस्था भएकाले त्यो समस्या न्यूनीकरणका लागि पालिकाले थेसर उपलब्ध गराएर हाल थेसरबाट काउनो बनाउन सहजीकरण गरेको मध्यनेपाल गाउँपालिका उपप्रमुख सीता गुरुङ बताउँछिन् ।
रैथानी बाली उत्पादनकै लागि भनेर वडा ५ समीभञ्ज्याङले केही अनुदान प्राप्त गरे तापनि अपेक्षाकृत काम भएको पाइँदैन । यस्तै, वडा नं. ४ दुई पिप्लेका कुमाल समुदायले फापर र कोदो खेती गर्दै आएको पाइन्छ । जहाँ काउनो खेतीका लागि भूमि योग्य नभएकाले उक्त समुदाय कोदो र फापरमै लागिरहेको पाइन्छ ।
मध्यनेपालका १० वटै वडामा कोदोको उत्पादन हुन्छ । वडा-१ जिता, वडा-२ तान्द्राङ्ग टक्सार, वडा-३ सूर्यपाल, वडा-४ रम्घा, वडा-५ समिभञ्याङ, वडा-६ भोर्लेटार, वडा-७ ईशानेश्वर, वडा-८ करापू, वडा-९ बाङग्रे, वडा-१० नेटा सबै वडामा हिजो जुन रूपमा कोदेको उत्पादन हुँदै आएको थियो पछिल्लो समय त्यो घढ्दोक्रममा रहेको देखिन्छ ।
मधुमेह रोगका लागि अति उत्तम खाना मानिने कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विज्ञहरू बताउँछन् । त्यो मात्र नभएर कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइने विभिन्न अध्ययनबाट पुष्टि हुन्छ । यस्तो बहुउपयोगी र बहुगुणी कोदोको उत्पादन बढाउन सरकारले कोदो दिवस मनाउने परम्पराको थालनीसँगै बढी भन्दा बढी कोदो उत्पादनमुखी गतिविधिमा जोड दिएर कोदो उत्पादकलाई प्रोत्साहित गर्न आवश्यक छ ।