MONDAY OCT 13, 2025

छहरेपानीका विद्यार्थीलाई कोरियाबाट खेलकुद सामग्री सहयोग

५ भदौ, पोखरा । रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन् ।

यसरी सहयोग प्राप्त गर्ने विद्यालयमा पोखरा-१६, छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभूत विद्यालय रहेका छन् ।
उक्त विद्यालयका झण्डै एकसय २२ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको समन्वयकर्ता छवि आचार्यले जानकारी दिए ।

वडा सदस्य रामकाजी गुरुङ र जूनकिरी फाउण्डेशन कोरिया नेपालका प्रतिनिधि दीपक बञ्जाराले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम आचार्य र प्रधानाध्यापक यम कार्कीको उपस्थितिमा विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरे ।

फाउण्डेशनका नेपाल प्रतिनिधि दीपक बञ्जाराले देशका ग्रामीण क्षेत्रमा अझै पनि शिक्षा र स्वास्थ्य सर्वसुलभ हुन नसकेकाले आफ्नो संस्था यस क्षेत्रमा क्रियाशील रहेको बताए ।

उनले कोरियामा रहेका नेपाली तथा त्यहीका प्रहरी सेवामा कार्यरत कोरियन नागरिकसँग सहयोग संकलन गरी यहाँका जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेको सुनाए ।

विद्यालयका प्रधानाध्यापक यम कार्कीले भू.पू. विद्यार्थीको पहलमा भएको यस कार्यले अन्यलाई पनि हौसला मिल्ने बताउँदै सहयोगी संस्था र व्यक्तिलाई आभार व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामकाजी गुरुङ, भू.पू. विद्यार्थी छविलाल आचार्य, सिआरभी प्रहरी लामाचौरका प्रमुख पूर्णबहादुर विकलगायतले संस्थाले गरेका असल कार्यको प्रशंसा गरे ।

शिक्षक विष्णुमाया आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लक्ष्मी देवकोटाले गरेकी थिइन् । कार्यक्रममा अभिभावक, विद्यार्थीसहितका सरोकारवालाले सहयोगीप्रति आभार व्यक्त गरेका थिए ।

Facebook Comments