MONDAY OCT 13, 2025

कसले बाजी मार्ला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ? चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका संक्षिप्त सूची सार्वजनिक

२१ साउन, पोखरा । गत चैतको तेस्रो सातादेखि रिक्त रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब छिट्टै उपकुलपति पाउने भएको छ ।

सत्ता साझेदार दलको आन्तरिक सहमतिसँगै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

सत्तारूढ नेकपा एमालेको भागमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाली कांग्रेसको भागमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भागवण्डा मिलेसँगै मन्त्रालयले ६/६ जनाको सङ्क्षिप्त सूची सार्वजनिक गरेको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा कांग्रेसनिकट प्रा.डा. रामेशराज कोइराला, प्रा.डा. रोहितप्रसाद यादव, प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. कृष्णकुमार राई, प्रा.डा. पशुपति चौधरी र प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठ छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कांग्रेसनिकट सह-प्रा.डा. डबलबहादुर धामी, सह-प्रा.डा. पुजनकुमार रोकाया, सह-प्रा.डा. एलिजा श्रेष्ठ, डा. पवनजंग रायमाझी र प्रा.डा. श्रीकृष्ण गिरी संक्षिप्त सूचीमा छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि प्रा.डा. बुद्धिप्रसाद पौडेल, प्रा.डा. गेहनाथ बराल, डा. दीपक थापा मगर, प्रा.डा. पवनकुमार शर्मा, प्रा.डा. विष्णुप्रसाद शर्मा र प्रा.डा. सृजना श्रेष्ठ संक्षिप्त सूचीमा रहेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. चण्डिका पण्डित, प्रा.डा. भरतबहादुर खत्री, प्रा.डा. नारायणसिंह गुरुङ, प्रा.डा. अर्जुन आचार्य र प्रा.डा. माया लामा रहेका छन् ।

सत्तारूढ नेकपा एमालेले प्रा.डा. चण्डिका पण्डित वा प्रा.डा. भरतबहादुर खत्रीमध्ये एक जनालाई उपकुलपति बनाउन प्रस्ताव गरे पनि, पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी प्रा.डा. विधानिधि पौडेलको पक्षमा सक्रिय छन् ।

पोखराका प्रभावशाली नेता खगराज अधिकारी र सत्तारुढ दल एमालेका नेता बीचमा कसको पल्ला भारी हुन्छ त्यो हेर्न भने केही दिन कुर्नैपर्ने भएको छ ।

पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका पद गत चैतको तेस्रो सातामा रिक्त भएका थिए भने पाटन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका  कार्यकाल चैतको अन्तिम सातामा समाप्त भएका थिए ।

हाल पोखरामा डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, कर्णालीमा रेक्टर डबलबहादुर धामी, पाटनमा रेक्टर प्रा.डा. पवन शर्मा, र बीपी प्रतिष्ठानमा रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्मा निमित्त उपकुलपतिका रूपमा कार्यरत छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल संयोजकत्वमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य रहेको समितिले उपकुलपतिका लागि तीन–तीन जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गर्ने छ ।

तीनै तीनमध्येबाट प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीले एक-एकलाई उपकुलपतिको जिम्मेवारी दिनेछन् ।

Facebook Comments