डा. खनालको सावर्णिलाई सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार

२१ साउन, पोखरा । नेपाली उपन्यासको विकासक्रममा प्रयोगात्मक धाराको विकास गरेको कृतिका रूपमा चर्चा हुँदै आएको डा. श्रीधर खनालको सावर्णि उपन्यासले सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२५ को बाजी मारेको छ ।
बुकहिलले २०८१ सालमा बजारमा ल्याएको एआई र रोबोटिक्स पृष्ठभूमि अगाडि बढेको साइन्स फिक्सन सावर्णिलाई नेपाली उपन्यासको प्रयोगात्मक धाराको सूत्रबिन्दू मानिरहेका बेला सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित भएसँगै यसको चर्चा पुनः एक पटक नेपाली वाङ्मयसेवीका बीचमा चल्न थालेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरद्वारा सञ्चालित उक्त पुरस्कारको राशी पाँच सय पाउण्ड रहेको छ ।
सुप्रमा–ईप्रमा पुरस्कारका लागि उत्कृष्ट १० पुस्तक सूचीमा खनालको सावर्णि उपन्याससहित खगेन्द्र गिरि कोपिलाको पर्जन्य मास नियात्रासङ्ग्रह, जीत बुढाथोकी छन्त्यालको यानीमाया मुक्तकसङ्ग्रह, ठाकुर बेलवासेको चोटहरूको उत्सव कवितासङ्ग्रह, डा. राजकुमार छेत्रीको अक्षरका आय भूमिकासङ्ग्रह, लालगोपाल सुवेदीको अनि प्रतीत्य समुत्पाद–शून्य शून्य महाशून्य कवितासङ्ग्रह, विजय हितानको मलाई आर्यघाट लगेर नजलाउनू कवितासङ्ग्रह, सबी श्रेष्ठको अपरिभाषित आभा मुक्तकसङ्ग्रह, सुमन थापा संगमको अभ्युदय कवितासङ्ग्रह र सूर्य खड्का विखर्चीको अर्जुन–उलूपी खण्डकाव्य परेका थिए ।
सावर्णि उपन्यासका लेखक खनाल पेशाले बालरोग विशेषज्ञ रहेका छन् । उनी अस्तित्व फाउन्डेसनका संस्थापकसमेत रहेका छन् । सावर्णिबाट प्राप्त रोयल्टीको केही प्रतिशत रकमसमेत उनले फाउन्डेसनद्वारा क्यान्सर रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएका छन् ।
सर्वोत्कृष्ट कृतिका स्रष्टालाई अगस्ट ९ तारिख लण्डनमा हुने भानु तथा ईश्वर जयन्ती कार्यक्रममा पुरस्कृत गरिने पुरस्कार समितिका संयोजक डा रूपक श्रेष्ठले नौलो खबरलाई जानकारी दिए ।