आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी तालिम सुरु

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को आयोजनामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुइदिने तालिम सुरु भएको छ ।
निफ केन्द्रीय समितिको आयोजना र गण्डकी प्रदेश प्रदेश समन्वय परिषद्को समन्वयमा सञ्चालित तालिममा गण्डकी प्रदेशका ५५ जना महिलाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले समाजमा मिलेर प्रगति गरेको देख्न नसक्ने तत्व बाहेकले अहिलेको संविधानको गलत व्याख्या गर्न नसक्ने बताए । अर्थमन्त्री गुरुङले भने– ‘हिजो जसले अरूको अधिकार खोसेर शासन व्यवस्थामा रमाएका मान्छे वा समाज भित्र सबै खाले जातजाति, सबै खाले उत्पीडनमा परेका समुदायले अधिकार प्राप्त गरेको देख्न नसक्ने र समाजमा मिलेर प्रगति गरेको देख्न नसक्ने दुइटा तत्त्व बाहेकले अहिलेको संविधानको बारेमा गलत व्याख्या गर्न सक्दैन ।’
अर्थमन्त्री गुरुङले मुलुकभित्र रहेका सबैलाई राज्य मेरो हो, राज्यप्रति अपनत्व कायम गर्न संविधानको गलत व्याख्या गर्न नहुनेसमेत बताए । ‘आज जुन तीनतहको सरकार छ, संविधानले परिकल्पना गरेको छ मुलुकभित्र रहेका सबै खाले जातजाति, भाषालाई राज्य मेरो हो, राज्यप्रति अपनत्व कायम गर्न पर्छ समर्ग मुलुक निर्माण सबैको सहभागिता, सबैको समावेशिता सबैले समानुपातिक हिसावले प्रतिनिधित्व गर्नुपर्छ भन्ने यो उत्कृष्ट संविधानको नकारात्मक व्याख्या गर्नतिर लाग्न हुँदैन ।’ उनले भने ।
गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाालाई सरकारी कामकाजमा प्रयोग गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक–२०८१ सर्वसम्मत पारित भएकाले छिट्टै कार्यान्वयनमा लैजान प्रदेश सरकार प्रतिवद्ध रहेकोसमेत बताए ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेश सभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजका लागि बनेको विद्येयक पास भइसकेकाले गण्डकी प्रदेशमा घरेलु मदिरा व्यवस्थापन गर्न बनेको विद्येयक पनि छिट्टै पास हुने बताइन् ।
उनले महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलनसम्बन्धी महासन्धीको सिफारिस नम्बर ३९ गण्डकी प्रदेश सभामासमेत उठाउने बताइन् ।
तालिमकी प्रशिक्षक उपप्रध्यापक मिना गुरुङले यो तालिम आदिवासी जनजाति महिला मात्र नभएर सबै लागि महत्त्वपूर्ण रहेको बताइन् । उनले थपिन्–
‘हामी आदिवासी जनजाति भन्दै गर्दा हामी आदिवासी जनजाति भित्रपनि आदिवासी महिला छौं, आदिवासी महिलासँग जोडिएको उसको भाषा, धर्म, संस्कृति पहिचान, पहिचानसँग जोडिएको शैक्षिक, राजनैतिक, आर्थिक यो सबै अधिकार नेपालको संविधानले बोल्दैन नेपालको संविधानले बोल्न नसकेको आवाज महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलनसम्बन्धी महासन्धीको सिफारिस नम्बर ३९ ले आदिवासी र किशोरी भनेर बोल्छ यसकारण पनि यो कार्यक्रम महत्त्वपूर्ण छ ।’
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, राजकुमारी भुजेल, तमु ह्युल छोंज धीं का केन्द्रीय उपमहासचिव विष्णु गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकीका सल्लाहकार पूर्ण लामा, सल्लाहकार श्याममाया पुन मगर, आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष श्रुति कुमाल, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको प्रदेश संयोजक माया गुरुङ भुजेल, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङलगायतले बोलेका थिए ।
कार्यक्रम निफ केन्द्रीय समितिका उपाध्यक्ष कल्पना भट्टचनको अध्यक्षता, कोषाध्यक्ष देउ छन्त्यालको स्वागत र निफ गण्डकी प्रदेश समन्वय परिषद्का सचिव मिलन भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो ।