आर्थिक वर्षको अन्त्यमा नेलम्बो नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित

विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपाल नेलम्बो नेपालले आर्थिक वर्षको अन्तिम महिना असारलाई शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रममा केन्द्रित गरेर सम्पन्न गरेको छ ।
सो क्रममा संस्थाले असार १ गतेदेखि २६ गतेसम्म गरी सात विशेष कार्यक्रम सम्पन्न गरेको हो । सात कार्यक्रममध्ये असार १ गते आँधीखोला गाउँपालिका–५ स्याङ्जामा रहेको श्री गोगनपानी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
यसैगरी, असार ४ गते पोखरा–५, कास्कीमा रहेको श्री धर्मस्थली आधारभूत विद्यालयमा दात तथा कानसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थी भाइबहिनीमा अझै पनि दाँत तथा कानसम्बन्धमा पर्याप्त जनचेतनाको अभावले गर्दा विभिन्न समस्या निम्तने र देखिएका समस्या निराकरणतर्फ नलाग्दा विकराल रूप लिन सक्नेतर्फ सचेत गराउन उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष एकदेव देवकोटा बताउँछन् ।
यस्तै संस्थाले असार ८ गते पोखरा–२६, लेखनाथमा रहेको सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालय र असार १० गते श्री नवीन माध्यमिक विद्यालय, पोखरा–०५, कास्कीमा सेनिटरी प्याड हस्तान्तरण गरेको छ ।
असार १२ गते शिशु स्याहार परामर्श तथा विकास परियोजना अन्र्तगत संस्थाकै कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको कार्यक्रम अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए ।
यसैगरी संस्थाले छैटौं विशेष कार्यक्रमका रूपमा असार २१ र २२ गते जिल्ला कारागार कास्कीमा निःशुल्क कान शिविर सञ्चालन गरेको छ भने असार २६ गते शिशु स्याहार परामर्श तथा विकास परियोजना अन्र्तगत कार्यालयमा अभिभावक भेला सम्पन्न गरेको छ ।
नेलम्बो नेपालले सञ्चालन गर्दै आएको सो परियोजनाबारे यस अगाडि पनि टोल विकास संस्था, आमा समूह तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरूसँग परियोजनाका उद्देश्य र कार्यक्रमबारे अन्तरक्रियात्मक छलफलसमेत सम्पन्न गरिसकेको भण्डारी बताउँछन् ।
शिक्षा र स्वास्थ्यका क्षेत्रमा जनचेतना जगाउँदै, आवश्यक क्षणमा सहयोग गर्दै अगाडि बढेको संस्थाले आगामी आर्थिक वर्षलाई थप प्रभावकारी बनाउनका चुस्त, व्यवस्थित र प्रभावकारी कार्यक्रमसहितको बजेट निर्माण प्रक्रियामा लागेको संस्थाले जनाएको छ ।
संस्थाले सञ्चालन गरेका गतिविधि हेर्दा विपन्न समुदायमा सचेतना जगाउँदै, साझेदारी गर्दै, सहयोगका हात बढाउँदै र अगाडि बढेको संस्थाले यो आर्थिक वर्षलाई थप प्रभावकारी बनाउँदै लैजानेमा पूर्ण विश्वास गर्न सकिन्छ ।