ड्यामसाइडदेखि पुम्दीकोटसम्म प्रवर्द्धनात्मक हाइकिङ
ड्यामससाइडदेखि पुम्दीकोटसम्म प्रवर्द्धनात्मक हाइकिङ सम्पन्न भएको छ। ‘पर्यटन प्रवद्र्धनका लागि प्रकृतिसँगका पाइला’ नाम दिइएको हाइकिङ तेस्रो पर्वतीय दौड प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजना गरिएको हो ।
हाइकिङको गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बराल जीवन, पोखरा १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगी, पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले उद्घाटन गरे।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको ८ किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क ड्यामसाइडबाट सुरु भई रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’मा पुगेर समापन भएको थियो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन विकास तथा पर्वतीय दौड प्रतियोगितालाई वडाले निरन्तर सहयोग गर्दै आएको बताए । ड्यामसाइडदेखि रानीवन हुँदै पुम्दीकोटसम्म व्यवस्थित पैदलमार्ग निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै ‘योजनाको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको र एडिबीको सहयोगमा पैदलमार्गसँगै विभिन्न स्थानमा प्रतिक्षालय, रेलिङलगायतका भौतिक संरचना निर्माण गरिने छ ।’ सो अवसरमा उनले ड्यामसाइडदेखि पञ्चासेक्षेत्रसम्म करिब २७ किलोमिटर फुटट्र्याक निर्माण गर्ने योजनाअन्तर्गत हालसम्म करिब ७ किलोमिटर पदमार्ग निर्माण भइसकेको जानकारी दिए ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकालले खेल पर्यटनले पर्यटकको पोखरा बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यस्ता गतिविधिबाट स्थानीय उत्पादन तथा वस्तुको समेत प्रवद्र्धन हुने धारणा राखे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका अधिकांश डाँडाकाँडा आफैंमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएको बताउँदै गाउँ पर्यटनको विकासका लागि पदयात्रा र पर्वतीय दौडजस्ता गतिविधि महत्वपूर्ण हुने उल्लेख गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङले आगामी दिनमा टुक्रे योजना र भौतिक पूर्वाधारभन्दा देखिने किसिमका कार्यक्रम तथा पर्यटन प्रवद्र्धनमा जोड दिने नीति वोर्डको रहेको बताए।
नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले पर्वतीय दौडले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको धारणा राखे ।
पुम्दीकोट कोट विकास समितिका कोषाध्यक्ष चण्डिका बरालले प्रतियोगितालाई सफल पार्न समिति आवश्यक समन्वय र सहयोगमा प्रतिबद्ध रहेको जानकारी गराए ।ड्रिम सिटीका सञ्चालक युवा व्यवसायी राजु बरालले आफूहरूले करिब ३० जनालाई प्रत्यक्ष रोजगारी दिएर पुम्दीकोट आउने पर्यटकलाई थप केही घण्टा सो क्षेत्रमा रोक्ने वातावरण निर्माण गर्न आफूहरू सफल भएको बताए। विभिन्न आकर्षण अवलोकनका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क लिने गरिएको उहाँले जानकारी दिदै पोखरा–२२ पुम्दीकोटमा करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ड्रिम सिटीमा अम्ब्रेला पार्क, हट एयर बलुन फोटो बुथ, ग्लास स्काईवाक, पिङ, स्विङ तथा रेष्टुरेन्ट लगायतका संरचनाबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमाल, फेवाताल, विश्वशान्ति स्तूप तथा कालावाङ घरेडी बुद्धपार्क लगायतका दृश्य अवलोकन गर्न सकिने जानकारी गराए ।
कार्यक्रम संयोजक पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दिननाथ बरालले असोज १० गते शनिबार आयोजना हुने तेस्रो पुम्दी-भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारीस्वरूप हाइकिङ आयोजना गरिएको बताए । प्रतियोगितामा खुलातर्फसहित विभिन्न छवटा इभेन्टमा प्रतिस्पर्धा हुने दौड अघिल्लो वर्षझैँ पुम्दी-भुम्दी क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यलाई जोड्दै विश्वशान्ति स्तूपबाट सुरु हुने मुख्य दौड विशाल महादेवको मूर्ति, पोखरा-२२ को वडा कार्यालय हुँदै कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब ८ किलोमिटर दूरीमा सञ्चालन हुने स्मरण गराए ।
गत वर्षको प्रतियोगितामा सात देशका १६७ जना धावक सहभागी भएका थिए । यस वर्ष पनि स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिए।
पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले प्राकृतिक सम्पदामा मात्र निर्भर भएर पर्यटन व्यवस्थापन गर्न कठिन हुने भएकाले दिगो रूपमा अगाडि बढाउन र नयाँ आयाम थप्न मानव निर्मित पर्यटकीय गन्तव्यसँगै हाइकिङ तथा पदमार्गलाई व्यवस्थित गरी प्रकृतिसँग पर्यटनका पाइला जोड्नै पर्ने आवश्यकता रहेको बताए । उनले पुम्दी-भुम्दी क्षेत्रलाई धार्मिक पर्यटनसँगै गाउँ पर्यटन, पदयात्रा, खेल पर्यटन र मनोरञ्जनको वैकल्पिक गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, होटल सङ्घ पोखराका लक्ष्मण सुवेदी, पोखरा भ्रमण वर्षका निवर्तमान संयोजक गोपीबहादुर भट्टराई, पोखरा माहानगरपाकिला आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, हाईकर्स क्लवका अध्यक्ष कृष्ण रानाभाट, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर, ड्रिम सिटि संचालक मध्येका एक श्यामकुमार बजगाई लगायत पर्यटनकर्मी, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।
हाइकिङमा प्रदेश सांसद प्रकाश बराल, पूर्व अर्थमन्त्री रामजी बराल जीवन, महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, पोखरा-१७ की वडाध्यक्ष राधिका कुमारी शाही, पोखरा पर्यटन वर्ष २०२५/२६ का निवर्तमान अध्यक्ष गोपी भट्टराई
फोटो पत्रकार संघ अध्यक्ष राम गुरुङ, फोटो पत्रकार संघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेल, टानका अध्यक्ष कृष्णप्रसाद आचार्य, हाइकर्स क्लब नेपाल अध्यक्ष कृष्ण रानाभाट, होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन परिषद्का सल्लाहकार दीपेन्द्र पहारी, मेडिप्लस हस्पिटलका सञ्चालक तथा प्रतियोगिताका हस्पिटल पार्टनर प्रकाश विकलगायत सञ्चारकर्मी, पदयात्राप्रेमी पर्यटन व्यवसायी र स्थानीयको उल्लेख्य सहभागी रहेको थियो ।कार्यक्रमलाई सफल पार्न ड्रिम सिटि, नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले सहयोग गरेको थियो ।


