‘राइट टु प्रोटिन रन-२०२६’ पोखरामा हुने
प्रोटिनको महत्त्व, पोषण र शारीरिक तन्दुरुस्तीबारे जनचेतना फैलाउने उद्देश्यले ‘राइट टु प्रोटिन रन-२०२६’ पोखरामा हुने भएको छ ।
चार हजारभन्दा बढी धावक सहभागी हुने दौड असोज ३ गते हुने नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनले बिहीवार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
दौड पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे, लौरुक हुँदै पुनः सोही मार्ग बसुन्धरा पार्कमा आएर समापन हुने जनाइएको छ ।
‘प्रोटिनका लागि दौडौं, स्वास्थ्यका लागि दौडौं, स्वस्थ नेपालका लागि दौडौं’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा आठ इभेन्टमा प्रतिस्पर्धा हुने भएका छन् । जसमा पुरुष र महिलातर्फ २१ किलोमिटर हाफ म्याराथन, पुरुष १० किलोमिटर खुला, महिला ५ किलोमिटर खुला तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि ५ र ३ किलोमिटर दौड हुने भएका छन् ।
प्रतियोगितामा पुरुष र महिलातर्फ ३-३ किलोमिटर ह्विलचेयर दौडसमेत समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा हाफ म्याराथनका पुरुष र महिलातर्फ प्रथम हुनेले जनही एकलाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख, तेस्रोले ५० हजार, चौथोले ३० हजार र पाँचौंले २५ हजार रुपैयाँ पाउने भएका छन् । यस्तै अन्य विधामा पनि पहिलोदेखि पाँचौं स्थानसम्मका धावकले नगद पुरस्कार पाउने नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनका कार्यक्रम संयोजक समेज राजभण्डारीले बताए ।
डा. अशेष भट्टराईले प्रोटिनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रोटिनको आवश्यकता र गुणस्तरीय प्रोटिनका स्रोतबारेको समुदायस्तरसम्म पुर्याउन दौडलाई अभियानका रूपमा अघि बढाइएको बताए ।
प्रतियोगितामा यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलको मुख्य प्रायोजन र नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ । चार संस्करण सम्पन्न भएको दौड पोखरामा पहिलो पटक आयोजना हुन लागेको हो ।
