SUNDAY AUG 02, 2026

गीताञ्जली साहित्य रत्न श्रेष्ठलाई र रुना साहित्य पुरस्कार भट्टलाई तुलसी–मुवा–अहिल्या बालसाहित्य पुरस्कार प्रमिला सुनारलाई

गीताञ्जली साहित्य परिवार पोखराद्वारा तीन प्रतिभा एकैसाथ पुरस्कृत हुने भएका छन् । जस अनुसार गीताञ्जली साहित्य रत्न साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई, रुना साहित्य पुरस्कार मुक्तककार पार्वती भट्टलाई र तुलसी–मुवा–अहिल्या बालसाहित्य पुरस्कार प्रमिला सुनारलाई प्रदान गरिने भएको छ ।

सूर्यपाल-१ लमजुङमा जन्मेर साहित्य साधनामा लागिरहेकी श्रेष्ठका थुँगाथुँगा जिन्दगानी (गीतसङ्ग्रह–२०६३), एक झुल्को घाम ओर्लेर सडकमा (कवितासङ्ग्रह–२०६७), फूलहरूको आँधी (कवितासङ्ग्रह–२०७४), किट्टी (बाल कथासङ्ग्रह–२०७६) प्रकाशित छन् । पोखरा प्रज्ञा-प्रतिष्ठानकी सदस्यसमेत भइरकेकी श्रेष्ठ यसअघि नवकविता प्रतिभा पुरस्कार–२०५३, बाबा साहित्य साधक पुरस्कार–२०६८, श्रष्टा साहित्य चौतारी पुरस्कार–२०७२, सुभद्रा अधिकारी पुरस्कार–२०७६, झलक–पुष्पा सिर्जना पुरस्कार २०७९ बाट पुरस्कृत भइसकेकी छन् ।

डोटीको नुवाकोटमा जन्मेर अमरगढी–५, डडेल्धुरामा रहेर साधनारत मुक्तककार पार्वती भट्ट २०५७ सालदेखि साहित्य साधनामा क्रियाशील छन् । उनका मुक्तक विधातर्फ अनिदा सपनाहरू २०७८ र शीतको समुद्र २०८३ प्रकाशित छन् ।

पोखरा-७, एयरपोर्ट निवासी बाल प्रतिभा प्रमिला सुनार संस्थाद्वारा सञ्चालित मासिक साधनाप्रभात कार्यक्रममा नियमित उपस्थित भएर आफ्नो प्रतिभा प्रस्फुटन गराउने जेहेन्दार र सिर्जनशील प्रतिभा हुन् ।

गीताञ्जली रत्न साहित्य परिवारद्वारा स्थापित र सञ्चालित रहँदै आएको पुरस्कार हो भने रुना साहित्य पुरस्कार माता रुक्मिणा अधिकारी र पिता नारायणदत्तको स्मृतिमा मुक्तकमणि तीर्थराज अधिकारी परिवारद्वारा स्थापित र गीताञ्जली परिवारद्वारा सञ्चालित पुरस्कार रहेको छ । दुवै पुरस्कारको राशि २५ हजार ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।

आफ्ना बाबा-आमाको सम्मान तथा स्मरणमा साहित्यकार तिलक पौडेल स्याँर्कोटेले तुलसी-मुवा-अहिल्या बाल साहित्य पुरस्कार कोष स्थापना गरेका हुन् ।

प्रतिभा चयनका लागि साहित्यकार असफल गौतमको संयोजकत्वमा शिवप्रसाद गौतम र लक्ष्मी थापा रहेको प्रतिभा चयन समिति गठन गरिएको थियो । समितिको सिफारिसलाई समितिको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

पुरस्कार संस्थाको अधिवेशन समारोह बीच यही साउन २४ गते पोखराको गीतामन्दिरको सभाहलमा आयोजित भव्य समारोहका बीच अर्पण गरिने परिवारका अध्यक्ष भानु भण्डारी छितिजले जानकारी दिए ।

Facebook Comments