भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
पोखरा वडा नं. १५ का वडा सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
भण्डारीको एकल अगुवाइमा आयोजित कार्यक्रममा १५१ युनिट रक्त संकलन भएको हो ।
रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको व्यवस्थापन भण्डारी स्वयं आजीवन सदस्य रहेको संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले गरेको थियो ।
पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा १७ का अध्यक्ष राधिका शाही योगी, पोखरा १० अध्यक्ष राजेशकुमार गुरुङ, भण्डारीका बुवा बलराम भण्डारी, आमा राधाकुमारी भण्डारीले पहिलो रक्तदाता राजिव जिसीलगायतलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।
पोखरा-१५ वडाध्यक्ष बानियाँले रक्तदानलाई पुण्य र मानवीय सेवाको सर्वोच्च कार्यका रूपमा व्याख्या गर्दै सक्षम युवा नेतृत्वका रुपमा भण्डारीलाई चित्रित गरे ।
पोखरा १४ का अध्यक्ष कार्कीले जन्मदिनमा रक्तदान गरेर समाजलाई गुन लगाएकोमा आभार व्यक्त गर्दै आफूले पनि अबको जन्मदिनमा रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरे ।
पोखरा १२ का वडाध्यक्ष बास्तोलाले युवा पुस्तामा रक्तदानप्रति बढ्दै गएको आकर्षण सकारात्मक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रम सबैका लागि प्रेरणाको स्रोत हुने र यस्ता पुण्यका कार्यले नै समाजलाई जीवन्त राख्ने बताए ।
पोखरा १७ का वडाध्यक्ष योगीले अस्पतालहरूमा रगतको अभाव भइरहेको अवस्थामा यस्ता कार्यक्रमहरूले आकस्मिक उपचारमा रहेका बिरामीहरूलाई ठूलो राहत मिल्ने बताइन् ।
भण्डारीले आफ्नो जन्मदिन समाजलाई योगदान पुग्ने फरक तरिकाले मनाउन चाहेको बताउँदै यो पटक रगतको अभाव हुने समय भएकाले रक्तदान कार्यक्रम गरेको धारणा राखे ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी महासंघका सचिव गोपाल अधिकारी, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष दीपेन्द्र अधिकारीलगायतले रक्तदानको महत्व बारेमा बोलेका थिए । समाजका सदस्य हिरामणि भुसालले सञ्चालन गरेका थिए ।
Facebook Comments
