MONDAY SEP 14, 2026

लेउवा संघमा तीन महिने प्लम्बिङ तालिम शुरू

लेखनाथ उद्योग वाणिज्य संघमा सोमबारबाट तीन महिने प्लम्बिङ तालिम  शुरु भएको छ ।

तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले तालिमले युवालाई स्वरोजगार, उद्यमशील र आत्मनिर्भर बनाउने बताउँदै स्वदेशमै केही गर्न चाहने वा विदेश जानेका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने  बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई आवश्यक परेको खण्डमा ‘एड्भान्स्ड’ तालिम दिने योजनासमेत जानकारी गराइन् ।

कार्यक्रममा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख अनिल सुवेदीले सीप सिकेर दक्ष बन्न सकेको खण्डमा स्वदेशमै रहेर स्वरोजगार भई उद्यमी व्यवसायी समेत बन्न सकिने भएको हुँदा सहभागीहरूलाई व्यवसायिक रुपमा अघि बढ्ने सोचका साथ तालिम लिन आग्रह गरे ।

संघका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठले संघले सीप सिकेपछि त्यसलाई व्यवहारमा सदुपयोग भए नभएकोसमेत संघले अनुगमन गर्ने बताए।
संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमले व्यक्तिलाई सिर्जनशील, रोजगारयुक्त र क्रियाशील बनाउने बताउँदै सक्रियताका साथ तालिम लिन सहभागीलाई आग्रह गरे।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिब भरतराज ओझाले गरेका थिए ।

Facebook Comments