FRIDAY APR 24, 2026

दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

१ चैत, पोखरा । दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा ६५ जना पत्रकारको सहभागिता रहेको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा आयोजना भएको तालिममा पत्रकारलाई विभिन्न विधाका खेल रिपोर्टिङ कसरी गर्ने र कस्ता नियम छन् भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

तालिममा राष्ट्रिय खेल भलिबलका प्रशिक्षक राजन पौडेल, क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी, गल्फ विधामा जिवाराम गुरुङ्ग, मार्सलआर्ट विधामा प्रशिक्षक सुवास खड्का र फुटबल विधामा प्रशिक्षक हिमेश रत्न बज्राचार्यले प्रशिक्षण दिएका थिए ।

तालिमको समापनमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले तालिमले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको क्षमता वृद्धिसँगै लेखन शैलीमा निखार ल्याउने बताए ।

प्रमुख प्रशिक्षक दुर्गानाथ सुवेदीले खेलाडीहरूको उत्साहसँगै उनीहरूको लगनशीलता र मेहनतलाई देखाउने माध्यम नै खेल पत्रकार रहेको बताए । उनले खेलका नियम र सिस्टमलाई राम्रोसँग बुझेर प्रसारण गर्नका लागि यस तालिमले महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

यस्तै पत्रकार कमल पौडेल अथकले प्रत्यक्ष खेल भइरहेकै ठाउँमासमेत पुगेर तालिम लिने अवसर पाएकोमा खुसी व्यक्त गर्दै तालिमले लेखन शैलीमा निखार आउने र खेलकुदका समाचार बनाउँदा हुने समस्यामा कमी आउने बताए ।

मञ्चका अध्यक्ष मानबहादुर घर्ती एमबि आस्थाले दुईदिनसम्म सञ्चालन भएको तालिमबाट केही न केही नयाँ ज्ञान प्राप्त भएको विश्वास व्यक्त गरे । उनले आगामी दिनमा खेलकुद सम्बन्धी समाचार उत्पादन तथा प्रसारणमा सहजता ल्याउने चर्चा गर्दै तालिमका प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । समापन कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्माले सञ्चालन गरेका थिए ।

Facebook Comments