FRIDAY MAR 13, 2026

बिटी कपमा दोस्रो चरणका खेल सुरु

२५ माघ, पोखरा । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा आइतबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।

बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार दोस्रो चरणका ८ खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।
उनका अनुसार दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच भएको पहिलो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा दीपले ३–२ गोल अनतरले पराजित गर्यो ।

यस्तै दोस्रो खेलमा आयोजक बिटी टिम ए ले एनएएफसी माथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । आयोजकको जीतमा विकास साईले निर्णायक गोल गरे ।

यस्तै त्रिशक्ति युवा क्लब लाहाचोक र मार्सल ह्वाइटबीच भएको तेस्रो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा लाहाचोकले ४–३ गोल अनतरले हरायो ।

मार्सल ब्ल्याक र एट टु नाइनबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले जीत निकाल्यो ।
रामघाट ग्रीन र बानियाँ ब्रदर्शबीच भएको पाँचौ खेल पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रामघाट ग्रीनले ३–२ को गोल अन्तरले पराजित गर्यो ।

छैटौं खेलमा रामघाट ह्वाइटले तालपारी एफसीलाई २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा मनिष तामाङले २ गोल गरे भने, तालपारीका लागि निखिल रानाले सान्त्वना १ गोल गरे ।

सातौ खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ ले मसिना एफसीलाई २–० गोल अन्तरले पराजित गर्यो । लामागाउँको जीतमा युनिक तामाङ र दिवस छन्त्यालले समान १र१ गोल गरे ।

आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’ ले बेस्ट ब्वाइज भिमादलाई २–० गोल अन्तरले हरायो । लामागाउँको जीतमा सँगम गुरुङ र एलिश तामाङले समान १र१ गोलको योगदान दिए । सोमबार पनि बिहान ८ बजेबाटै दोस्रो चरणकै खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Facebook Comments