FRIDAY APR 17, 2026

आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशबासीको संकल्प पूरा गर्नुछ : प्रदेश प्रमुख

२२ माघ, पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि भट्टले सम्पूर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै गण्डकी सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्न सबै एक भएर उद्देश्यप्राप्तिमा लाग्न जरुरी रहेको उल्लेख गरे।
‘नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ-आफ्नै कार्यक्षेत्र र अधिकार तोकेको छ ।’ उनले भने- ‘जनताको अधिकारलाई जनताकै घरदैलोमा पु¥याउनु र उनीहरुको जीवनस्तर बदल्न बहुआयामिक भूमिका खेल्नु प्रदेशको जिम्मेवारी हो । प्रदेशमा देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिने काममा गण्डकी प्रदेश सफल बनेको छ ।’
नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानुन, संघीयताको मर्म  बमोजिम नागरिकसामू जिम्मेवार भई नागरिकका अपेक्षा चाहनालाई गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रप्रति पूर्ण प्रतिबद्ध रही पूरा गर्न सकोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरे।
‘आगामी दिनमा पनि गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारबीच  सामाजिक,  सांस्कृतिक, आर्थिक, न्यायोचित तथा समतामूलक विकास एवं सम्बद्ध कानून निर्माण र कार्यान्वयन विषयमा  सहअस्तित्व र समन्वयका आधारमा सहकार्य हुनेमा विश्वस्त छु ।’ प्रदेश प्रमुख भट्टले भने ।
प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न संवैधानिक अधिकार बमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा संघीय सरकार तथा स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्नुपर्नेमा उनको जोड छ ।
यस्तै, उनले प्रदेश सभा र प्रदेश सरकार आ-आफ्नो संस्थाको संस्थागत विकासका लागि कानुनी आचारसंहिताको पूर्ण पालना, हालसम्मका अनुभवमध्ये असल अभ्यासको अनुशरण, वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरुलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
Facebook Comments