स्वतन्त्र पत्रकार संघ कास्कीमा डिल्लीराम
स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा डिल्लीराम काफ्ले चयन भएका छन् । संघको पोखरामा भएको सातौं अधिवेशनले काफ्लेको अध्यक्षतामा ९ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा शिशिर उजाड, सचिवमा मदनराज जैसीं, सहसचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा गणेशबज्र लामा चयन भए । सदस्यमा भोजराज उपाध्याय, दुर्गादेवी बास्तोला,मानबहादुर थापा र रामचन्द्र लामिछाने छन् ।
दुर्गा बहादुर शाह संयोजकत्वमा शिवप्रसाद गौतम र अभिमन्युविक्रम राणा सदस्य रहेको निर्वाचन मण्डलले सो समिति चयन गरेको थियो । यसअघि अधिवेशनको उद्घाटन गर्दै मानवअधिकार संरक्षण मञ्च नेपालका पूर्व अध्यक्ष नवदत्त उपाध्याय ढुगांनाले हरेक क्षेत्रमा दलीय राजनीति प्रवेश गरेकाले, राज्यका सबै निकाय कमजोर बन्न पुगेको बताए ।
उनले विषम परिस्थितिमा स्वतन्त्र पत्रकारको खबरदारी आवश्यक रहेको बताए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको स्पष्ट पारे ।
संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दलीय पत्रकारका कारण देशले विभिन्न कालखण्डमा समस्या भोग्दै आएको बताए ।
संघ कास्कीका अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्मा, अग्रज पत्रकार नारायण कार्कीलगायतले विचार भन्दा माथि देश रहेकाले स्वतन्त्र पत्रकारिताको महत्त्व झनै बढेको बताए ।
अध्यक्ष रानाभाटले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सभामा स्वागत केन्द्रीय पार्षद सागर कार्की, धन्यवाद उपाध्यक्ष डिल्लीराम काफ्ले र संचालन सह-सचिव शिशिर उजाडले गरेका थिए ।
नवनिर्वाचित कार्य समितिलाई निर्वाचन मण्डलका संयोजक दुर्गा शाह बाबा, सदस्य शिवप्रसाद गौतम, संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संघ कास्कीका पूर्व अध्यक्ष कृष्ण थापा लगायतले स्वतन्त्र पत्रकारिताको पक्षमा सशक्त आवाज उठाउन सुझाव दिए ।
