जनता सहकारीको रक्तदानमा ४६ युनिट रगत संकलन
१७, पोखरा पुस । पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले पहिलो रक्तदाता सहकारीका उपाध्यक्ष सनबहादुर गुरुङलाई बल्ड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि तिवारीले रक्तदान जीवनदान भएको उल्लेख गर्दै कास्की जिल्लामा रगतको अभाव हुन नदिन सहकारीले नियमित रूपमा यस्तो कार्यक्रम सञ्चालन गर्नु सराहनीय रहेको बताए ।
उनले साविक लेखनाथ क्षेत्रमा २०३९ सालमा लामास्वाँराबाट सुरु भएको रक्तदान अभियान आज विशाल रूप लिएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यक्रम दीर्घकालसम्म प्रेरणादायी रहने धारणा व्यक्त गरे ।
संस्थाका संस्थापक अध्यक्ष विश्वमोहन पौडेलले सहकारी स्थापना भएदेखि नै रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै निःस्वार्थ रूपमा रक्तदान गर्न सबै सदस्यलाई आग्रह गरे ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शोभामोहन पौडेल, कुलबहादुर रानाभाट, निर्वतमान अध्यक्ष विश्वराज लामिछाने, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, कोषाध्यक्ष दयाराज भण्डारी, सदस्य पदमराज पौडेललगायतले सहकारीका सामाजिक तथा प्रगतिमूलक कार्यबारे धारणा राखेका थिए।
सोही अवसरमा सहकारीले वडा प्रहरी कार्यालय पोखरा–३० लाई कार्यालय प्रयोजनका लागि एक थान दराज, शान्ति टोल विकास संस्था पोखरा–३० खुदीलाई सरसफाइका लागि डस्टबिन, साझा सांस्कृतिक समूह पोखरा–३२ र जेष्ठ नागरिक दिवा सेवा साझा बजारलाई नगद रु. ११,१११ सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–कास्कीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा सनबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष भरत ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
