FRIDAY APR 24, 2026

अनुदानमा कृषि सामग्री तथा औजार वितरण

१५ पौष, पोखरा । जनप्रिय सहकारी संस्था पोखरा २६ ले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषिसम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कृषि विकास कार्यालय बिरौटाबाट ५० प्रतिशत अनुदानमा प्राप्त मिनी टेलर (हाते ट्र्याक्टर) आलु रोप्ने फालीसहित वितरण गरिएको हो । सोही अवसरमा सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोदाली, चाँदे कोदाली, बाउसो, स्प्रे, करौते, हसियाँ र हजारीलगायतका कृषि औजारहरू पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कृषि विकास कार्यालय बगबानीका सातौँ तहका अधिकृत विकास विकले सहकारीले यस्ता उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँदै आफूले पनि यस्ता कार्यक्रमलाई हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार मुरारी बराल, चन्द्रबहादुर रानाभाट, कृषि विकास कार्यालयका प्राविधिक सहायक सालिकराम घिमिरे तथा अनुदान प्राप्त गर्ने सदस्यहध्ये राधिका शर्मालगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सह-सचिव पवित्रा ढुंगाना गौतमले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने कार्यक्रम संयोजक बुद्धराज बस्यालले स्वागत गरेका थिए ।

Facebook Comments