निष्पक्ष मा.विको ६४ औँ वार्षिकोत्सव सम्पन्न
१०, पौष पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न. ५ रिभानमा स्थापित निष्पक्ष मा.विको ६४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले निष्पक्ष माविको पछिल्लो शैक्षिक गतिविधि सुधार उन्मुख रहेको र गाउँपालिकाको समग्र शिक्षा क्षेत्रको अमूल परिवर्तनका लागि आवश्यकतालाई हरेर साझा धारणका साथ अगि बढ्नुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले निष्पक्ष मा.विले पछिल्लो समयमा शैक्षिक गुणस्तर सँगै अन्य क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै विद्यालय परिवारप्रति हार्दिक धन्यवाद दिँदै पालिकाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर रावतले प्र.अको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भौतिक, आर्थिक र सबल विद्यालय बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँर्दै शिक्षणमा सूचना प्रविधिको प्रयोग, निरन्तर अतिरिक्त क्रियाकलाप, विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने कार्यमा विद्यालय निरन्तर लागिरहेको बताए ।
समारोहमा सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरिबहादुर क्षेत्री, वडा न.५का अध्यक्ष एवं वडा शिक्षा समिति संयोजक नारायणप्रसाद पौडेल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतम , माछापुच्छ्रे«–६ बराह मा.विका प्र.अ सुरेश गुरुङ, सर्वगुण फुडस एन्ड किचनको सञ्चालक श्री उषा गिरीलगायतले व्यवहारिक शिक्षालाई प्राथमिकता राखेर शिक्षाका गतिविधिलाई अगाडी बढाउनुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गरे।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहत्तर विकासका लागि योगदान पु¥याउने शिक्षक कर्मचारी, अभिभावक, पूर्व विद्यार्थी, अक्षयकोषदाता, जग्गादाता लगायत विभिन्न अक्षयकोषदाताबाट स्थापना गरिएका अक्षयकोषबाट सम्बन्धित विद्यार्थीलाई छात्रवृत्ति वितरण, एसइइमा सर्वोत्कृष्ट पुरस्कार लगायतका, दीर्ध सेवा एवं विभिन्न विधाका सम्मान तथा शैक्षिकसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गतका पुरस्कार प्रदान गरिएको थियो ।
विद्यार्थी झरना दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक सोमनाथ लामिछानेले गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
