THURSDAY MAY 21, 2026

पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसमा पोखरेली नवरत्न सम्मान

३ पौष, पोखरा ।पोखरा महानगरपालिकाले बुधबार ६७ औं स्थापना दिवसमा विभिन्न कार्यक्रमसहित ९ जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरेको छ ।

पोखरा नगरपालिका स्थापना भएको दिन (२ पुस, २०१६) लाई महानगरले स्थापना दिवसरूपमा मनाएको हो । पोखराले यसअघि २७ फागुनलाई स्थापना दिवसका रूपमा मनाएको थियो ।

सम्मानित हुनेमा ६ दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार गुभाजू , नेपथ्य ब्याण्डका गायक तथा संगीतकार अमृत गुरुङ, पुम्दीकोट विशाल महादेव मूर्ति परिकल्पनाकार तथा उद्योगी चन्द्रकान्त बराल, अर्का उद्योगी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, स्वास्थ्य क्षेत्रबाट प्रा.डा. बुद्धिबहादुर थापा, खेलकुद क्षेत्रबाट प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र उद्योग तथा शिक्षासेवाबाट पूर्व मन्त्रीसमेत रहेका हरि पाण्डेलाई सम्मान गरियो ।

उनीहरूलाई जनही २ लाख २ हजार २०२ रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले सम्मान गरिएको हो । प्रा.डा. गुरुङ भने देशबाहिर रहेकोले उपस्थित हुन सकेनन्।

महानगरको उन्नयनमा योगदान गरेबापत महानगरले तेस्रोपटक नवरत्न सम्मान गरेको हो । यसअघि, २०५५ र २०५९ सालमा सम्मान गरिएको थियो । २०७२ सालमा तीन जनालाई ‘पोखरा रत्न सम्मान’ गरिएको थियो । अहिलेको सम्मानका लागि महानगरले छुट्टै कार्यविधि तयार गरेको थियो । पोखरा महानगरमा स्थायी ठेगाना भएका र महानगरभित्र मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई मात्रै सम्मान गर्ने कार्यविधिमा व्यवस्था थियो । हालसम्म ३० जनाले ‘नवरत्न सम्मान’ प्राप्त गरिसकेका छन् ।

Facebook Comments