THURSDAY JAN 15, 2026

दोस्रो बालप्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता शुरु

२५ मंसिर, पोखरा । नेशनल प्याब्सन, कास्कीको आयोजनामा पोखरामा दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको शुभारम्भ भएको छ ।

महोत्सवको गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समुद्घाटन गर्दै बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउँदै उनले सानै उमेरमा बालबालिकामा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गरे ।

बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील, जिम्मेवार र सकारात्मक व्यक्तित्वका रूपमा ढाल्ने आधार यस्तै प्रकारका कार्यक्रम रहेको बताउँदै प्रदेश प्रमुखले प्रतिभा पहिचान र प्रशंसा भएपछि बच्चाको मनोबल बढ्ने र उनीहरूमा सिक्ने चाहना प्रबल हुनुका साथै आफ्नो क्षमताप्रति आफै गर्व महसुस गर्ने बताए ।

बुधबारदेखि मंसिर २६ गतेसम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने महोत्सवमा एनप्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका विद्यार्थीबीच सामूहिक लोक नृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामाग्री र अंग्रेजी वक्तृत्वकलालगायतका कार्यक्रम हुँदैछन् ।

Facebook Comments