THURSDAY MAY 21, 2026

चरक हस्पिटल १४ वर्षमा प्रवेश

२३ मंसिर, पोखरा । पोखराको नागढुंगामा अवस्थित चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव मनाएको छ ।

हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवमा रक्तदान कार्यक्रम र बटुकलाई ३० हजार नगद सहयोग गरेको हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्वबन्धु बगालेले निजी स्तरमा सञ्चालित अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढेकोमा खुशी प्रकट गरे ।

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामध्ये गण्डकी प्रदेशबाट सबैभन्दा धेरै योगदानकर्तालाई स्वास्थ्यसेवा प्रदान गर्ने हस्पिटल बन्न सफल भई नेपाल सरकारबाट सम्मानित भएकोमा पनि उनले बधाई ज्ञापन गरे ।

हस्पिटलले वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान, डाक्टर र कर्मचारीलाई अवार्ड वितरण गरेको छ ।

कार्यक्रम हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा  भएको थियो ।

पोखराको नागढुंगामा रहेको १०० शय्या क्षमतामा सञ्चालन भइरहेको हस्पिटलको छतमा हेलिप्याड सुविधासहितका संरचना छन् ।

हस्पिटलले अत्याधुनिक उपकरण, नवीनतम प्रविधिबाट सेवा प्रदान गरिरहेको मल्टी–स्पेशालिटी हस्पिटल मुटुरोग उपचार र शल्यक्रियाका लागि  उत्कृष्ट हस्पिटल भनेर चिनिएको छ ।

Facebook Comments