SATURDAY DEC 06, 2025

आइटिएफ जे ३० टेनिस टुर पोखराको तयारी पूरा, १६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै

१४ मंसिर, पोखरा । कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ को सम्पूर्ण तयारी पूरा भएको छ ।

सोमबारबाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे३० को आठौं सस्करणको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

पोखरालाई खेल पर्यटनका माध्यमबाट विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको पहिलो सर्किट अन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी दिए । उनले भने– “पोखराले विभिन्न १६ देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी करिब दुई सय जनाको आतिथ्यता गर्न पाउनु महत्त्वपूर्ण विषय हो ।”

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्यूजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरीया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताले स्थानीय खेलाडीको खेल कौशल बढाउन सुनौलो अवसरको रूपमा हेरिएको कास्की टेनिसका निवर्तमान अध्यक्ष लोकबहादुर गुरूङले बताए । उनले भने–“यो महत्त्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पूरा गरेका छौं । सबै पोखरेलीको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं ।”

प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाइनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स÷महिला सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ इभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार प्रतियोगितामा ब्वाइजतर्फ जुनियर वरियताका प्रणब मानन्धर (१७६९), आयुष्मान हजुर घले (२२२२), सक्षम विक्रम शाह (३२५६), राज वीर प्रधान (३७००) र वरियताका तथा गल्र्सतर्फ सुनिता थापा (१२८४), शिवाली गुरुङ (१३६७), स्वस्तिका बिस्ट (३२९९) वरियताका नेपाली खेलाडीको सहभागिता रहेको छ । त्यस्तै वाइल्डकार्डमार्फत् दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यकोसमेत सहभागिता रहनेछ ।

त्यस्तै प्रतियोगितामा नं.१ ताइपेइका वल्र्ड र्याकिङ टिङ–हो याङ (१०७७) र नेपाल नं १–सुनिरा थापा (१२८४) को सहभागिता हुनेछ ।
टुर्नामेन्ट डाइरेक्टर विष्टले प्रतियोगिताका लागि दुई भारतीय अम्पाएरसमेत पोखरा आइपुगेको जानकारी दिएका छन् । उनले आगामी वर्षबाट वल्र्ड टेनिसले नियममा केही सुधार गर्दै अघि बढेको बताउँदै कोर्टको संख्या नबढ्दा खेलाडीको संख्यामा कमी आउने जनाए । नेपाल टेनिसका सचिवसमेत रहेका उनले भने–अब प्रतियोगिता नयाँ फर्मयाट जाँदै छ । अब खेलाडीको सख्या बढाउन पूर्वाधारसमेत बढाउनु पर्छ । यसका लागि राज्यको ध्यान जान आवश्यक छ ।”

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको संघका द्वितिय उपाध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।

कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुदमार्फत् प्रवद्र्धन गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करण जे६० वा जे१०० गर्ने तयारीमा रहे पनि पूर्वाधारको अभाव रहेको उनको भनाइ थियो । उनले भने– “हामीसँग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला वरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।”

Facebook Comments