MONDAY FEB 09, 2026

ठकुरी युवा परिवार कास्कीको अवचेतन मन र नेतृत्व विकास तालिम सम्पन्न

१४, मंसिर पोखरा । ठकुरी युवा परिवार कास्कीद्वारा अवचेतन मनको शक्ति र नेतृत्व विकास प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
युवाको क्षमता अभिवृद्धि र नेतृत्वशीलता विकास गर्ने उद्देश्यले गरिएको उक्त तालिमले सहभागीहरूमा अत्यन्त उत्साहजनक प्रभाव पारेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा ठकुरी समाज महासंघ नेपालका अध्यक्ष खिमबहादुर शाही लक्ष्मणले युवालाई सक्षम, सजग र परिवर्तनकारी शक्ति बनाउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताए ।
उनले भने, ‘युवा पुस्ताले साझा लक्ष्यसहित अघि बढ्न सके समाज रूपान्तरणको गति अझ तीव्र हुन्छ ।’
कार्यक्रमका प्रमुख प्रशिक्षक सामाजिक मनोविज्ञ डा. दलिपकुमार मल्लले अवचेतन मनको शक्ति, सकारात्मक सोच, आत्मा अनुशासन र नेतृत्व क्षमताको गहिरो प्रभावबारे व्यावहारिक प्रशिक्षण प्रदान गरे ।

हालसम्म ६९ वटा यस्ता तालिम सञ्चालन गरेका डा. मल्लले आफ्नो अनुभव सुनाउँदै सामाजिक रूपान्तरणमा युवा पुस्ताको अग्रणी भूमिकाको आवश्यकता औँल्याउँदै भने, ‘समाज बदल्नुभन्दा पहिले आफू बदलिन जरुरी भएको र त्यो परिवर्तन अवचेतन मनबाटै शुरू हुन्छ ।’

ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमालले युवालाई लक्षित कार्यक्रमले आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास र नेतृत्व क्षमताको विस्तारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
उनले सहभागीहरूको सक्रियता र उत्साहप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा सल्लाहकार दुर्गा शाह बाबा, टुकबहादुर मल्ल, अनिलकुमार शाही, सन्तोष शाही लगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै युवालाई निरन्तर यस्ता ज्ञानमूलक गतिविधिमा सहभागी बन्न आग्रह गरे ।

कार्यक्रमका उपाध्यक्ष ज्योति हमालले सबै अतिथि, सहभागी र सहयोगीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको भूमिका सराहनीय रहेको बताइन् ।
सचिव मोहन शाहीले युवाहरूको उत्साहपूर्ण उपस्थिति, सकारात्मक ऊर्जा र प्रेरणादायी प्रशिक्षणका कारण कार्यक्रम अझ प्रभावकारी र सफल बनेको बताए ।
ठकुरी युवा परिवार कास्कीले आगामी दिनमा पनि युवालाई केन्द्रमा राखेर नेतृत्व, सीप विकास र व्यक्तिगत रूपान्तरणमा केन्द्रित कार्यक्रम जारी राख्ने जनाएको छ ।

Facebook Comments