२१ औं लेखनाथ महोत्सव पुस पहिलो साता, ९ करोड कारोबारको लक्ष्य
७ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीबारे जानकारी दिने उद्देश्यले आइतवार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा-२७ तालचोकमा महोत्सव गर्न लागेको जानकारी गराइएको हो ।
संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जातजाति, भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको बताइन् । उनले महोत्सवबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादनको प्रर्दशनी एवं बिक्री गरिने बताइन् ।
पत्रकार सम्मेलनमा महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबावु भटृराईले विषम आर्थिक परिवेशमा मेला महोत्सव आयोजना गरिनु आफैंमा चुनौति रहेको बताउँदै व्यवसायी तथा आम सर्वसाधारणको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न महोत्सव आयोजना गरिएको बताए ।
देशका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानको बजार प्रवद्र्धन र पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना, आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्याउन महोत्सव सफल हुने उनले बताए ।
महोत्सवका विशेष आर्कषणमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामान, विद्युतीय उपकरण, फर्निचरका सामान, भान्छामा प्रयोग हुने मालसामान, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्री, सूचना प्रबिधि तथा सञ्चारका उपकरण, लेखनाथ क्षेत्रका गतिविधि, फुड फेस्टिवल, अटोमोवाइललगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादनलगायतको बिक्री एवं प्रदर्शनी रहनेछन् ।
यस वर्ष महोत्सवमा गतवर्ष जस्तै एशियाका ज्योतिको रूपमा चिनिने शान्तिका दुत गौतम बुद्धको प्रतिमासहितको पर्यटन प्रवद्र्धन कार्यक्रम विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली कार्यक्रम, शैक्षिक प्रदर्शनी, विद्यालयस्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रियस्तरका चर्चित कलाकारबट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याङ्य) कार्यक्रम, बालउद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् ।
प्रवेश टिकटको मूल्य रु १ सय, विद्यार्थी रु ५० र बेलुका सुगम संगित/कन्सर्ट का लागि रु २ सय कायम गरिएको छ । महोत्सवको बचत रकम नवउद्यमी उत्पादनमा पहल, उद्यमशीलता विकास, औधोगिक क्षेत्र निर्माणको पहल, पर्यटन प्रर्वद्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सीना पँगेनीले लेखनाथ क्षेत्रलाई विकासको दृष्टिकोणले पछि पारिएको बताउँदै यस क्षेत्रको विकास र प्रर्वद्धनमा सम्बन्धित निकाय र संघसंस्थाले ध्यान दिन नसकेको बताइन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रम गर्न सके राम्रो हुने सुझाव व्यक्त गरे ।
महोत्सवको मुख्य प्रायोजक रहेको गृहलक्ष्मी ग्याँसका महाप्रबन्धक भिमराज लामिछानेले लेखनाथ महोत्सवसँग सहकार्य गर्ने मौका प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिए।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले गरेका थिए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सवलाई व्यवस्थित संचालन गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति, ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति र ३०० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।
करिब ३३५ स्टल रहने महोत्सवमा २ लाख पचास हजार बढी दर्शकले मेला अवलोकन गर्ने, करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र करिब ८५ लाख खर्च भई १० लाख बचत हुने अनुमान छ ।
