MONDAY OCT 13, 2025

पोखरा क्लिक पुम्दीभुम्दीमा पर्यटक दौडाउँछ

असफल गौतम

पुम्दीभुम्दी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार साविक पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चलको कास्की जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो । जहाँ २०६८ सालको राष्ट्रिय जनगणनालाई हेर्दा एक हजार आठ सय ३७ घरधुरी रहेको पाइन्छ ।

संघीय व्यवस्थापछि पुम्दीभुम्दी पोखरा महानगरपालिका वडा नं. २२ मा पर्दछ । विश्व शान्ति स्तूप, पुम्दीकोट, भुम्दीकोट, राम्चेदेवी मन्दिरलगायतका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेको यस क्षेत्र पछिल्लो समय दिनप्रतिदिन गुल्जार हुँदै आइरहेको देखिन्छ ।

हिजो बादर दौडने डाँडाहरूमा आज पर्यटनवाहक सवारी गुड्न थालेका छन् । डाँडैपिच्छे थपिएका पर्यटकीय गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटकको पोखरा बसाइँ लम्बिदा अर्थतन्त्र चलायमान छ । स्थानीय उत्पादनको खपत र रोजगारीका अवसरसमेत सिर्जना हुने क्रम बढ्दो देखिन्छ । यसैक्रममा पोखरा क्लिक अनलाइन सञ्चार गृहले अघिल्लो वर्षदेखि पुम्दीभुम्दीमा पर्यटक दौडाइरहेको छ ।

पर्यटकीय दौडको अवधारणा
हरेक व्यक्ति जननी र जन्मभूमिप्रति ऋणी हुन्छन्, त्यो ऋण चुक्ता गरेर सकिँदैन । तापनि जन्मभूमिलाई विश्वमा परिचित गराउने इरादा सबैले राख्नुपर्छ । त्यसैलाई मध्यनजर गरेर जन्मथलोलाई सञ्चार र खेल पर्यटनसँग जोडेर प्रवद्र्धन गराउने उद्देश्यले सञ्चारकर्मी दीननाथ बरालले यो अवधारणा अगाडि बढाएका हुन् ।


पोखरालाई पर्यटनको राजधानी घोषणा गरियो । पोखराको आर्थिक समृद्धिमा खेल पर्यटन अर्को एउटा अध्याय हुनसक्छ भन्ने सञ्चारकर्मी बराललाई लाग्यो । उनले ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ उद्घोषका साथ आफ्नो अनलाइन सञ्चार गृह पोखरा क्लिक आयोजक हुने गरी वार्षिक कार्ययोजना बनाए ।

सेप्टेम्बर २१ विश्व शान्ति दिवस र सेप्टेम्बर २७ विश्व पर्यटन दिवसको सप्ताह पारेर २७ तारिख भन्दा अघिल्लो शनिवार हरेक वर्ष ‘खुला पर्वतीय दौड प्रतियोगिता’ आयोजना हुने सम्पादक बराल बताउँछन् ।

त्यही दौडको दोस्रो शृङ्खला यही आउँदो असोज ४ गते शनिवार आयोजना हुँदैछ । शान्ति कामना, आन्तरिक तथा बाह्य पयर्टनको आगमन संख्यामा वृद्धि र खेल पर्यटन प्रवद्र्धन गरी पुम्दीभुम्दीलाई आर्थिक समृद्धिसँग जोड्नका लागि पुम्दीभुम्दी पर्वतीय दौड शुरु भएको देखिन्छ ।

दौड प्रारम्भ स्थान
विश्व शान्ति स्तूप कास्की जिल्लाको पुम्दीभुम्दीमा अवस्थित अनदुडाँडा मीन थुम्कीको धार्मिक तथा पर्यटकीय स्थान हो । पोखरा आउने झण्डै ९० प्रतिशत विदेशी पर्यटक तथा आन्तरिक पर्यटकको गन्तव्यस्थल विश्व शान्ति स्तूप बन्दै आएको पाइन्छ । करिब बाइस रोपनी क्षेत्रफलमा रहेको स्तूपको १ सय १५ फिट उचाई र ३ सय ४४ फिट गोलाई रहेको छ ।
स्तूपको अग्रभागमा जापानमा निर्मित धर्मचक्र प्रवर्तन मुद्राका बुद्धको विशेष मूर्त्ति, पश्चिममा श्रीलङ्काबाट प्राप्त ध्यान मुद्राको बुद्ध मूर्त्ति, उत्तरमा थाइल्याण्डबाट प्राप्त ढलोटबाट निर्मित छ फिट लामो महापरिनिर्वाण बुद्ध मूर्त्ति र दक्षिण दिशामा नेपालमा बनेको सिद्धार्थको जन्ममूर्त्ति राखिएको स्तूपको महिमा र महत्त्व विश्वविख्यात छ । त्यही उचाइमा पर्वतीय दौडलाई पुर्याउने उद्देश्य आयोजक संस्थाले राखेको देखिन्छ ।

गौतम बुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्मित स्तूपमा साच्चै शान्तिको अनुभूति हुने भएकाले दौडको प्रारम्भ बिन्दु यही शान्ति स्तुप रहेको छ । मेडिकल टिमले स्वास्थ्य जाँचसँगै स्तूपका लामाद्वारा धावकको शान्तिकामनाको पूजा गरी दौड शुभारम्भ हुन्छ । जहाँ विश्वशान्ति स्तूप समितिले धावकलाई जलपानको व्यवस्था गर्दै आएको छ ।

दौडको मध्यबिन्दू
विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्त्ति परिक्रमा गरी दौडले मध्यबिन्दु पूरा गर्दछ । पुम्दीकोट पोखरा–२२ को एक प्रसिद्ध पर्यटकीय स्थल हो । २२ रोपनी जग्गामा ५२ फिट अग्लो शिव मूर्त्ति नै यसको मुख्य आकर्षण हो । जसका कारण पुम्दीकोट धार्मिक पर्यटकको गन्तव्यस्थल बनेको छ । सनातनकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा सोही नामको ५२ फिट उचाइको महादेवको मूर्त्ति स्थापना गरिएको हो । जुन दौडको मध्यबिन्दू हो । जहाँ पुम्दीकोट कोट विकास समितिले धावकलाई प्रोत्साहित गर्दै आएका छन् ।

दौडको समापन बिन्दू
पुम्दीभुम्दीको पछिल्लो नयाँ पर्यटकीय गन्तव्य चक्रहाल्ने डाँडा अर्थात् नियालेडाँडा हो । समुद्री सतहदेखि झण्डै एकहजार छ सय मिटर उचाइको उक्त डाँडामा पहिला हावाको गति मापन गर्न चक्र जडान गरी हावाको चाप नाप्ने प्रचलन पराम्परा रहेको पाइन्छ ।

धावकहरू पुम्दीकोटबाट पोखरा–२२ वडा कार्यालय हुँदै अगाडि बढ्दा स्थानीय सरकारले धावकलाई प्रोत्साहन गर्ने छ । त्यसपछि धावक निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा प्रवेश गरेसँगै पर्वतीय दौड समापन हुन्छ । जसको दुरी आठ किलोमिटर रहेको छ । जहाँ कालावाङ घरेडी बुद्धपार्क समितिले समापन समारोह व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

इभेन्ट र पुरस्कार
पोखराका अनेक दौड हुन्छन् । पुम्दीकोटको डाँडाबाट हिमशृङ्खला हेर्दै, फेवातालको मनोरम् दृश्य नियाल्दै दौडदाको दृश्यावलोकन अन्य दौडमा असम्भव छ । अत्यन्तै रमणीय डाँडैपिच्छे पर्यटकीय गन्तव्य हेर्दै दौड्नुको आनन्द बेग्लै हुन्छ । पर्यावरण र वातावरण मात्र दौडको पहिचान होइन । यसमा समावेश विधाले पनि यो दौड सबैका लागि लोकप्रिय देखिएको छ । दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन र ४० वर्ष माथिका भेट्टान गरी छ इभेन्ट समावेश छन् । जुन धावक प्रत्येक पाँच-पाँच मिनेटको अन्तरमा दौडने छन्  । यो संस्करणबाट आयोजकले विदेशी पर्यटक र भेट्टानका लागि इभेन्ट थप गरेको हो ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले सातहजार र पाँचौँले तीनहजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, खुलातर्फ छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्रसहित प्रोत्साहित गरिने आयोजकले जनाएको छ ।

वडास्तरीय, खुला, महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने छन् । प्रतियोगितामा आयोजकले ४० वर्ष माथिका भेट्रान र विदेशी धावक एक–एकलाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ ।

पहिलो संस्करणमा छ जना धावक पुरस्कार भएकामा यो संस्करणबाट १८ जना धावक पुरस्कृत हुँदै छन् । जसका लागि दुई लाख छ हजार रुपैयाँ नगद पुरस्कार नै समापन समारोहमा वितरण हुने देखिन्छ ।

सहभागिता र तरिका
पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित ७१ पुरुष र ३३ महिला धावकले अनलाइन फाराम भरेकामा प्रतिकूल मौसमका कारण ७९ जना सहभागी भएको पाइन्छ । नौ वर्षदेखि ६१ वर्ष उमेरका धावक सहभागी रहेको प्रतियोगितामा खुलातर्फको उपाधि शसस्त्र प्रहरी बल एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेको देखिन्छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीले अनलाइन फाराम भर्नुपर्ने हुन्छ । दोस्रो संस्करणका लागि अनलाइन फारम भाद्र २ गते सोमवार राति १२ः०० बजेदेखि भदौं २५ गतेसम्म खुला हुने प्रतियोगिताका प्राविधिक निर्देशक ओम लामा बताउँछन् । यो संस्करणमा दुई सय ५० बढी धावक सहभागी हुने अपेक्षा आयोजकले गरेको देखिन्छ । जसका लागि धावकले पोखरा क्लिक डटकममा अनलाइन फारम भर्नुपर्ने छ ।

सहकार्य
प्रतियोगितालाई सफल पार्न पोखरा–२२ वडा कार्यालय, पोखरा–२२ को वडा युवा परिषद्, विश्व शान्ति स्तूप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समितिले सहयोग गरेका छन् ।


यसैगरी, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, केसी ग्रुप तथा हिमश्री फुड्स, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, सहास स्पोट्र्स नेपाल, अटोवेज, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भर्टाइजिङ, पुइमे फाष्ट फुड एण्ड बारलगायतको सहयोग देखिन्छ ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको पाइन्छ । प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन र आधिकारिक ड्रिङ्किङ वाटरकारूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको देखिन्छ ।

पुरस्कार प्रायोजक
करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च लाग्ने प्रतियोगितामा खुलातर्फको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी ल्याफ्टेनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेको देखिन्छ ।अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष अवकास प्राप्त ल्याफ्टेनेन्ट कुसाङ गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीनपटक लगातार जित्ने कीर्तिमानधारी धावकसमेत हुन् । उनी एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल प्रतिभा हुनुहुन्छ ।

यस्तैगरी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष योगदान दिँदै आएको नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको देखिन्छ । नेलम्बो नेपालले पहिलो संस्करणको प्रतियोगितामासमेत मेडिकल सपोर्ट गरेकोमा यो वर्ष मेडिकल सर्पोटसहित पुरस्कारसमेत प्रायोजन गरेको देखिन्छ ।

सरोकारवालाका धारणा
प्रदेश सभा सदस्य प्रकाश बरालले प्रतियोगिता जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिएको विषय भएकाले सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँछन् ।

पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल विगतमा विश्वशान्ति स्तूपले चिनाएको पोखरा–२२ लाई विशाल महादेव मूर्त्ति, बुद्धपार्क हुँदै अहिले पर्वतीय दौडले चिनाएकाले कार्यक्रमलाई वडाले चाडका रुपमा लिएको बताए । उनले पोखरा–पञ्चासे ट्रयाक निर्माणको पहिलो चरण सुरु भएको जानकारी दिँदै त्यसबाट थप पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्दछन् ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले खेलकुदको जति महत्त्व बुझ्यो त्यति खेलका गतिविधि हुने भएकाले पोखराको बसुन्धरापार्कदेखि रानीवन हुँदै पञ्चासेसम्म दौडको रुट बनाउनुपर्ने सुझाव दिए । उनले दौडलाई हाफ म्याराथन हुँदै लेकसाइडदेखि पञ्चासेसम्मको म्याराथन दौड बनाउन सुझाउँदै तालपारीको इको टुरिजमको सम्भावना मर्न दिन नहुनेमा चिन्ता व्यक्त गर्दछन् ।

पुुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगी चन्द्रकान्त बराल पुम्दीभुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावना बोकेका स्थान भए तापनि पर्वतीय दौडजस्ता कार्यक्रमले त्यस क्षेत्रका अन्य गन्तव्यहरूको प्रवद्र्धनमा सहयोगी हुने बताउँछन् ।

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले विश्व पर्यटन दिवसका अवसरमा हुने उक्त प्रतियोगिता पोखराको नयाँ उत्पादनका रूपमा आएकोमा खुसी व्यक्त गर्दै विदेशी धावकहरु बढी भन्दा सहभागी गराउन पहल गर्ने बचनवद्धता व्यक्त गर्दछन् ।

पोखरेली ट्याक्सी सेवाका अध्यक्ष शोभाकान्त पौडेल पोखराको पर्यटकीय क्षेत्रलाई खेलका माध्यमबाट थप प्रचारप्रचार गराउने उक्त अभियानलाई आफूहरूले सहयोग गर्ने बताउँदै आफ्ना दुई हजार ट्याक्सीमा स्टिकर टाँस गरेर प्रचारप्रसार गर्न तयार रहेको बताउँछन् ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी पोखरा र पुम्दीभुम्दीलाई विश्व सामु परिचित गराउन दौडले मद्दत पुग्ने बताउँदै सञ्चार क्षेत्रबाट प्रतियोगिता सफलताका लागि सहयोग गर्ने जनाए ।
विश्व शान्ति स्तूप समितिका अध्यक्ष असोक गुरुङले दौडको सुरुआत शान्ति स्तुपबाट हुने भएकाले आवश्यक व्यबस्थापनमा सहयोग गर्ने बताउँछन् ।

विश्व शान्ति स्तुप समितिका सचिव पूर्व प्रधानपञ्च दुर्गाबहादुर गुरुङ प्रतियोगितालाई महोत्सवका रूपमा मनाउन सुझाव दिँदै पुम्दीभुम्दीमा पर्यटकीय सम्भावना बोकेका तारेभिर, फिलिङ्गघारी, थाप्लेडाँडालगायतका क्षेत्रको पनि प्रवद्र्धन आवश्यक रहको धारणा राख्छन् ।

प्रतियोगिताका प्राविधिक ओम गुरुङले दौड ८ होस् या ४२ किमीको म्याराथन होस् खेलकै एउटै रुल हुने बताए । उनले धार्मिकस्थल विश्वशान्ति स्तुप, महादेवको मूत्र्ति, बुद्ध पार्क रुटमा अधिकांश भाग पिच भए पनि केही भाग अफ रोड रहेकोले धावकलाई सोही अनुसार हावा, हुरी र पानी आए पनि प्रतियोगितालाई सहज व्यवस्थापन गर्ने जनाए ।

वडा युवा परिषद् पोखरा २२ का अध्यक्ष दिनेश बरालले प्रतियोगिता गाउँकै नयाँ ब्राण्ड भएकाले आफ्नातर्फबाट स्वयंसेवक भएर कार्यक्रम सफल पार्न आफूहरु मन, वचन र कर्मले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछन् ।

भोलिको भविष्य

आन्तरिक तथा बाह्य पर्यटक एकदिन आए गएर मात्र पर्यटन प्रवद्र्धन हुँदैन । पर्यटक केही खर्च गर्नका लागि समय र बजेट व्यवस्थापन गरेर निस्केका हुन्छन् । उनीहरूलाई त्यस क्षेत्रको मौलिक उत्पादन उपहारका रूपमा लिएर जाने वातावरणको विकास गराउन अब पुम्दीभुम्दीवासी जुट्नुपर्ने बेला भएको छ । पानी माग्दा मोही दिने चन्द्रकोटको संस्कारलाई अब पुम्दीकोटले जगाउन सक्नुपर्छ ।

Facebook Comments