प्रतिभामा स्पोर्टस फेस्ट
स्पोर्टस् मीटको उद्घाटन गर्दै प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले खेलकुदले विद्यार्थीलाई सामूहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । अध्यक्ष गौतमले प्रतिभा माविले शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिको प्रशंसासमेत व्यक्त गरे ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याएको बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले गुणस्तरीय शिक्षामा प्रतिभा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको बताउँदै यहाँको खेलकुदमा पनि विद्यालयको स्थान अगाडि रहेको बताए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य प्रदीप खनालले हाउस क्याप्टेनहरूलाई सपथ खुवाएका थिए ।
स्पोर्टस् मिटमा व्यक्तिगत स्पर्धातर्फ कक्षागत रूपमा दौडलगायतका प्रतिष्पर्धा तथा सामूहिक स्पर्धातर्फ अन्तरसदनात्मकरूपमा बास्केटबल, भलिबल, फुटबल, रिले दौडलगायतका प्रतिस्ष्पर्धा हुने विद्यालयले जनाएको छ ।
विद्यार्थी तथा खेलाडीको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोगसमेत गर्दै आएको छ । सन्दीप लामिछाने, अरुणा शाही, ज्ञानेन्द्र मल्ल जस्ता खेलप्रतिभालाई विद्यालयले ठूलो समारोहबीच जनही एक लाखले सम्मान गरिसकेको छ । मानवीय विपद, सामाजिक सेवामासमेत विद्यालय अग्रपंक्तिमा छ । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।
