जूनकिरीको सन्देश त्रैमासिक पत्रिकाका प्रधानसम्पादक तिमिल्सिना रहेनन्
२४ कार्तिक पोखरा । जूनकिरीको सन्देश त्रैमासिक पत्रिकाका प्रधान सम्पादक ताराप्रसाद तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिनाको ७३ वर्षको उमेरमा गए राति आफ्नै निवासमा निधन भएको हो ।
लामो समयदेखि प्रोष्टेट क्यान्सरबाट पीडित उनको सोमवार बिहान सेती नदीस्थित तुलसी घाटमा अन्तिम संस्कार गरिएको छ ।
नेकपा एमालेका सांगठनिक सदस्यसमेत रहेका उनको पार्थिव शरिरमा एमालेका केन्द्रीय सदस्य कृष्ण थापा र कास्की अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए भने छोरा पवन तिमिल्सिनाले दागबत्ती दिएका थिए ।
विभिन्न सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा क्रियाशिल तिमिल्सिनाका श्रीमती, १ छोरा र ३ छोरी छन् । हिमालय क्लबले प्रकाशन गर्ने जूनकिरीको सन्देश त्रैमासिक पत्रिकाका प्रधानसम्पादक तिमिल्सिन क्लब, शुक्ला साहित्य प्रतिष्ठान र भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चकासमेत पूर्व अध्यक्ष हुन् ।
वातावरण क्लब र विन्ध्यवासिनी क्याम्पसका सल्लाहकारसमेत रहेका उनी झलकमान गन्धर्व शालिक निर्माणका अगुवासमेत हुन् । उनको निधनप्रति हिमालय क्लब, शुक्ला साहित्य प्रतिष्ठान, विन्ध्यवासिनी क्याम्पस, वातावरण क्लब, नेकपा एमाले वडा कमिटी पोखरा१६ लगायतका संघ संस्थाले शोक व्यक्त गरेका छन् ।
