SATURDAY DEC 06, 2025

संगम साकोस र हाइकर्स क्लबको रक्तदानमा ३२ युनिट रगत संकलन

२४ कार्तिक, पोखरा ।संगम बचत तथा ऋण सहकारी संस्था लि. (संगम साकोस) को आयोजना र हाइकर्स क्लब नेपालको सह-आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी मेडिकल कलेजका एशोसियट प्रोफेसर डा. हरिबहादुर केसीले पहिलो रक्तदाता पर्यटन व्यवसायी नितिन शेरचनलाई सहभागिता प्रमाण-पत्र प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

डा. केसीले “रक्तदान गर्नु सागको बोटबाट एउटा पात टिप्नु जस्तै भएकाले योग्य व्यक्तिले नियमित रक्तदान गर्नुपर्छ” भन्दै रक्तदानको महत्त्वमाथि प्रकाश पारे।

संगम साकोसका सल्लाहकार संयोजक निरज थापाले सहकारीले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व पूरा गर्दै विभिन्न संघसंस्थासँग सहकार्यमा सामाजिक कार्य गर्दै आएको जानकारी दिए।

हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले सहकारीसँग सहआयोजकको भूमिकामा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने इच्छा व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश समितिका द्वितीय उपाध्यक्ष सागर कार्की, दरबारथोक टोल विकास संस्थाका अध्यक्ष मिलन केसी, चण्डिका आमा समूहकी अध्यक्ष विना श्रेष्ठ र सहकारीका लेखा संयोजक भोविन्द्र गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता संगम साकोसका अध्यक्ष नवराज तिवारीले गरेका थिए। कार्यक्रम संयोजक तीलक थापाले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन हाइकर्स क्लब नेपालका सचिव मधु अधिकारीले गरेका थिए।

Facebook Comments