MONDAY FEB 09, 2026

गीतकार प्रतिष्ठानमा अनुराग, को हुन् अनुराग अधिकारी ?

१५ कार्तिक,  पोखरा। गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । पोखरामा शनिवार सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो ।

समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सह-सचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर रहेका छन् ।

सोही अवसरमा प्रतिष्ठानले गीतकार सम्मान-२०८२ गीतकार आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरेको छ । सम्मानसहित नगद ५ हजार ५५५ रुपियाँसहित सम्मानपत्र र दोसल्ला विष्टलाई हस्तान्तरण गरे ।

कार्यक्रममा सरुभक्तले गीतको जननी गीतकारलाई कसैले सम्झेन भनेर कुण्ठा बोकिराख्नु नपर्ने बताउँदै गीतकार आमा भएकाले आमालाई कसैले सम्झे पनि नसम्झे पनि आमा आमा नै हुने धारणा राखे । उनले आरजु जस्तो प्रतिभाशाली गीतकारलाई सम्मान गर्नु संस्था नै सम्मानित हुनु भएको बताउँदै गीति साहित्यको ऐतिहासिक अभिलेख प्रकाशन गर्न प्रतिष्ठानलाई सुझाव दिए ।

सम्मानित गीतकार विष्टले आफू गायक हुने धुनमा लागिरहँदा त्यसमा आएको अवरोधले गीतकारका रूपमा केन्द्रित हुने मौका पाएको बताए । सम्मानले चर्चामा आउन नचाहने आफूलाई गीति क्षेत्रमा थप काम गर्ने जोस भरेको अनुभव सुनाए ।

सञ्चारकर्मीसमेत रहेका विष्टका करिब तीन सय गीत रेकर्ड भएका ‘सागर’ र ‘झ्याम्म झ्याम्म’ गीति एल्बमसमेत बजार आएका छन् ।

कार्यक्रममा बिम्व रमेश श्रेष्ठ, पूर्व सम्मानित गीतकार सरस्वती श्रेष्ठ ‘सरू’, नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीलगायतले शुभकामना दिएका थिए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्याय सदस्य तथा अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसबमोजिम विष्टलाई सो सम्मान गरिएको हो ।

गीत लेखनका क्षेत्रमा योगदान पुर्‍याएका नेपाली गीतकारलाई हरेक दुई वर्षमा प्रदान गरिने सम्मान यसअगि प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ ले प्राप्त गरिसकेका छन् ।

प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको साधारण सभाबाट प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भएको छ । गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ संयोजक तथा प्रेमराज अधिकारी र रेशम गिरी सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्य समितिको घोषणा गरेको थियो ।

को हुन् अनुराग अधिकारी ?

पिता विश्वनाथ र माता बद्रीमाया अधिकारीको कोखबाट वेगनास–१० लेखनाथमा जन्मेका पिताम्बर अधिकारी नै हुन् नेपाली वाङ्मयका ‘अनुराग’ ।
शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर गरेका पिताम्बर अधिकारीले अध्ययनकै सिलसिलामा पोखराको पहिलो सामुदायिक रेडियो हिमचुली एफ.एम.बाट गजल कार्यक्रमको सञ्चालन गर्ने मौका पाएसँगै उनले लामो समयसम्म विभिन्न रेडियोमा गजलकै कार्यक्रम सञ्चालन गर्दै आए ।
एफ.एम.मा अरूका गजलवाचन गर्दागर्दै गजलका अभियन्ता बनेका उनी उत्कृष्ट गजलकार पुरस्कार–२०६०, गजल प्रतिभा सम्मान–२०६३, उत्कृष्ट प्रस्तोता पुरस्कारलगायत दर्जनौ  सम्मान र पुरस्कृतबाट भइसकेका छन् ।

अध्ययन, अध्यापन र लेखनलाई निरन्तरता दिँदै आएका पिताम्बर अनुराग बनेपछि गजल गायन विधा भएकाले साङ्गीतिक माहोल सिर्जना गर्नुपर्छ भनेर क्रियाशील साधकसमेत हुन् ।
२०५४ सालमा ‘शहरकी सुन्दरी’ फुटकर व्यङ्ग्यकविता प्रकाशन गरेर साहित्य साधनामा लागेका अधिकारीको ‘अनुराग’ (२०६१) गजलसङ्ग्रह प्रकाशित छ । अनुराग प्रकाशनपछि गोधुलि साँझ साथी समूहबाट ‘गोधुलि’ (२०६२) र गोधुलि–२ (२०६३) संयुक्त राष्ट्रिय गजलसङ्ग्रहसमेत सम्पादन गरेका छन् ।


गोधुलि–२ प्रकाशनको केही समयको अन्तरालमा उनले ‘गजलयात्राका सहयात्रीहरू–१’ (२०६५) दोस्रो संयुक्तसङ्ग्रह सम्पादन गरेका छन् । जुन कृतिमा तत्कालीन पाँचै विकास क्षेत्रको नेपाली गजलको अवस्था झल्कने आलेख र परिश्रमीको बहरकेन्द्रित अन्तर्वातासमेत सङ्कलित छ ।

गजल लेखन र प्रकाशनसँगै गजलमा सङ्गीत भर्न व्यस्त उनका सङ्गीतबद्ध गजल गैरे सुरेशको सङ्गीतमा अनुपम गजलएल्बम ‘अनुपम १’, ‘अनुपम २’ हुँदै गजलएल्बमहरू बजारमा आएका छन् ।

साथै अनुपम म्यूजिक स्थापना गरी अनुपम सांगीतिक साँझलगायतका गजल साधनाको पृष्ठभूमिबाट अगाडि बढेका अनुराग अध्यापक, कुशल मार्गनिर्देशक र रेडियो प्रस्तोतासमेत हुन् ।

Facebook Comments