MONDAY FEB 09, 2026

पोखरेलको पहिलो नाट्यकृति ‘शुभारम्भ’ बजारमा

पोखरा  । नाटककार भानुभक्त अविरलको पहिलो नाट्य कृति शुभारम्भ बजारमा आएको छ ।

फुटकर एकाङ्की तथा नाटक प्रकाशन गर्दै आएका पोखरेलको १६ वटा नाटकको सङ्ग्रह नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले एक समारोहका बीच लोकार्पण गरे ।

कृतिको समीक्षा गर्दै उपप्राध्यापक डा. बोधराज ढकालले पोखरेललाई कुशल र सफल नाटककारका रूपमा चित्रण गरे ।

साहित्यकार टेकनाथ पीडितले स्रष्टा परिचय राख्दै अविरललाई कुलश नाटककार र साहित्यका सारथिकारूपमा चित्रण गरे ।

नाटककार अविरलले आफ्नो जागिरे जीवनका अलवा साहित्य सिर्जना क्रममा फुटकर रचनाका हिसाबमा लेखिएका नाटकलाई एकीकृत कृतिका रूपमा प्रकाशित गरेको धारणा राखे ।

माछापुच्छ्रे ३ घाचोकमा जन्मेका भानुभक्त पोखरेल साहित्यका क्षेत्रमा भानुभक्त अविरल नामले परिचित छन् । नेपाली भाषा र साहित्यका स्नातकोत्तर गरेका उनी करुणानिधि एजुकेसन फाउन्डेसनका शिक्षकसमेत हुन् ।

नेपाली भाषा शिक्षण परिषद् कास्क्ी, जोर्ज जोन शिक्षा प्रतिष्ठान, सिर्जना साहित्य सदन, हेमजा साहित्य प्रतिष्ठान, मुक्तक मञ्च कास्की, नेपाल नाट्य प्रतिपष्ठानलगायतका संस्थामा क्रियाशील उनी सिर्जना साहित्य पुरस्कारबाटसमेत विभूषित प्रतिभा हुन् । उनका विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर रचनासमेत प्रकाशित छन् ।

सिर्जना साहित्य सदन र विमला पोखरेल न्यौपाने प्रकाशक रहेको कृति १९६ पृष्ठमा संरचित छ । पुस्तकको बिक्री मूल्य २५० रुपैयाँ रहेको छ ।

Facebook Comments