FRIDAY MAR 13, 2026

गीतकार सम्मान आरजू विष्ट ‘सल्यानी’ लाई

११, कार्तिक पोखरा । गीतकार प्रतिष्ठान, नेपालले यस वर्षको गीतकार सम्मान आरजू विष्ट ‘सल्यानी’ लाई प्रदान गरिने भएको छ ।

संस्थाको तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभामा उनलाई ५ हजार ५५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिने उपाध्यक्ष अनुराग अधिकारीले जानकारी दिए ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने गीतकार सम्मानबाट यसअघि प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ सम्मानित भइसकेका छन् ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्याय सदस्य, अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी पदेनसदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई प्रतिष्ठानको कार्यसमितिले अनुमोदन गरेको हो ।

सल्यान जिल्लाको खलङ्गामा जन्मिएका विष्ट २०५८ सालदेखि पोखरामा रही पत्रकारिता तथा साहित्य लेखनमा क्रियाशील छन् । उनी रेडियो अन्नपूर्णमा समाचार प्रमुखसमेत हुन्  ।

‘सागर’ र ‘झ्याम्म झ्याम्म’ गरी दुई गीति एल्बमसमेत बजारमा ल्याइसकेका उनका करिब तीन सय गीत रेकर्ड भइसकेका छन् ।

Facebook Comments