बक्यौता नतिर्ने उद्योगको बिजुलीको लाइन अवरुद्ध
३ कार्तिक, स्याङ्जा। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर प्रिमियम महसुल नतिर्ने उद्योगमध्य केही उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ।
मंगलवार प्राधिकरणको टोलीले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो।
प्राधिकरणका अनुसार जगदम्बाले १ अर्ब ६० करोड, रिलायन्सले ७५ करोड ३७ लाख, शिवमले ७७ करोड ८८ लाख, घोराहीले ५० करोड ८५ लाख, अर्घाखाँचीले ४४ करोड ८४ लाख र त्रिवेणीले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी छ।
यी सबै बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखबीच डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्दा तिर्नुपर्ने अतिरिक्त महसुलको हो। जुन समयमा देशभर जनतालाई १८ घण्टा अँध्यारोमा राखेर प्राधिकरणले उद्योगीलाई विद्युत उपलब्ध गराएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार सार्वजनिक बिदामासमेत बक्यौता तिर्न सक्ने र उद्योगहरूले किस्तामा रकम बुझाएर पहिलो किस्ता तिरेपछि काटिएको लाइन पुनः जडान हुने छ ।
कार्यकारी निर्देशककोरूपमा रहँदा ४९ उद्योगीबाट ८ अर्ब २६ करोड रुपैयाँ उठाउने प्रयास गर्दा हटाइएका कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि सो अभियानलाई पुनः अघि बढाएका हुन्।
