MONDAY FEB 09, 2026

निवृत्त प्राध्यापक समाजमा कृष्णप्रसाद पौडेल

१ कार्तिक, पोखरा । निवृत्त प्राध्यापक समाज पोखराको शनिवार सम्पन्न प्रथम अधिवेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रा.पद्मशरण रेग्मी, सचिवमा प्रा.डा ज्ञानबहादुर कार्की, सह–सचिवमा निरुपा थापा, कोषाध्यक्षमा चन्द्रकान्त रेग्मी रहेका छन् ।

यसैगरीसदस्यमा क्रमशः प्रा.डा. कृष्णप्रसाद पौडेल, विष्णुराज पराजुली, हरिप्रसाद त्रिपाठी, प्राध्यापक दीपकचन्द्र वाग्ले, अञ्जना श्रेष्ठ र लोकनाथ पुडासैनी निर्वाचित भएका छन् ।

अमृतलाल श्रेष्ठको संयोजकत्वमा गठित खुमलाल पौडेल र उपेन्द्र पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो ।

सभाको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी.ले आफू कार्यक्रममा प्रमुख अतिथि भन्दा पनि जीवनको ऊर्जाशील समय शिक्षाको ज्योति बाल्न खर्च गरेका गुरुसँगको भेटघाटका लागि उपस्थिति भएको बताए । उनले आफ्ना लागि पनि भेला हुने थलोकारूपमा रहेको मञ्चमा उभिन पाउँदा निकै गौरव लागेको धारणा राखे ।

पछिल्लो समय विद्यार्थी पलायनको पीडाले हरेक विश्वविद्यालय आक्रान्त बनेको बताउँदै उनले पोखरा विश्वविद्यालयले रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई विश्वविद्यालयकारूपमा सञ्चालन गर्ने प्रक्रियामा रहेकोसमेत जानकारी गराए ।

समारोहमा सेवा निवृत्त प्राध्यापकहरू पद्मशरण रेग्मी, बालगोपाल अमात्य, रघुनाथ अधिकारी, गोविन्द पौडेल, उमाकान्त शर्मा, अञ्जना शर्मालगायतले बोलेका थिए ।

सोही समारोहबीच संस्थालाई विभिन्न आर्थिक र भौतिक सहयोग गर्ने दातालाई सम्मानसमेत गरिएको थियो । समाजको कोष स्थापनाका लागि एक लाख बढी सहयोग गर्ने जोर्ज जोन र ५५ हजार सहयोग गर्ने बालगोपाल अमात्यलाई सम्मान गरियो । साथै संस्थाको मुखपत्र सम्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रा.डा. ज्ञानबहादुर कार्की, प्रा.डा. कृष्णप्रसाद पौडेल, डा वासुदेव भण्डारी र खुमलाल पौडेललाई पनि सम्मान गरिएको छ ।

सभाले अध्यक्षको प्रतिवेदन, सचिवको प्रगति र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

Facebook Comments