गौडेलको ‘रुट्स इन नेपाल विन्स इन क्यानडा’को लोकार्पण
२७ असोज, पोखरा । साहित्यकार वासुदेव गौडेल ‘विजय’को ‘रुट्स इन नेपाल विन्स इन क्यानडा’ कृति सोमवार पोखरामा लोकार्पण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार सरुभक्त र अग्रज साहित्यकार चन्द्रप्रकाश बानियाँले संयुक्तरूपमा कृतिको लोकार्पण गरेका हुन् ।
साहित्यकार सरुभक्तले वासुदेव गौडेललाई परदेशीलाई मार्गनिर्देशन गर्न सक्ने सामर्थ्यका स्रष्टाका रूपमा चिनाए । नेपालीलाई जन्मभूमि छोडेपछि आफ्नो राष्ट्र र राष्ट्रियताको मायाले सताउने यथार्थलाई विजयको लेखनले पुष्टिसमेत गरेको बताए ।
साहित्यकार चन्द्रप्रकाश बानियाँले सिर्जनाका अगाडि संरचना कहिल्यै ठूलो हुन नसक्ने बताउँदै गौडेललाई नेपाल बोकेर विश्व हिँडेका स्रष्टाका रूपमा चिनाए ।
कृतिको चर्चा गर्दै प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले कुटिदेखि महलसम्मको व्याख्या गरिएको कृतिलाई आफूले एउटा मुक्ति ग्रन्थकारूपमा लिएको दावी गरे । उनले धरतीको विविधता जस्तै पारिवारिक विविधताले बासुदेवलाई स्रष्टा बनाएको जिकिर गरे ।
स्रष्टा वासुदेव गौडेलले आफ्नो जीवनयात्रालाई भावनाको पुलको माध्यममा जोडेर दुई देशको यथार्थलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न किताब निकालेको बताए ।
शोभाकान्त गौडेलले परदेशीमा रहेको इमानलाई आफ्नो छोराले कृतिका रुपमा लेखेको विषयले आफूलाई छोएको धारणा राखे ।।
डा. कालु शर्मा सुवेदीले परिस्थितिले क्यानडा पुग्दाको पीडा र समय र समस्याले जेलेको यथार्थ पुस्तकको विषय भएको धारणा राखे ।
अनेसास गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले जिन्दगीका ६० प्रतिशत खुसी बिना पैसा पाउँदा पनि हामी ४० प्रतिशतका पछाडि दौडेर दुःखी भइरहेको धारणा राखे ।
अनेसास गण्डकीका महासचिव असफल गौतमले स्रष्टा गौडेललाई घरदेशको नेपालीपन र नेपाली मन बोक्ने राष्ट्रप्रेमी चिन्तककारूपमा चिनाए ।
आदर्श सापकोटाले वासुदेव गौडेललाई बहुआयामिक व्यक्तित्वकारूपमा चिनाएको कार्यक्रममा सारा स्वीकृति शर्माले कृति भित्रको एक परिच्छदे पढेर सुनाएकी थिइन् ।






