MONDAY OCT 13, 2025

अनेसासको कविता महोत्सव सम्पन्न

१८ असोज, पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले आयोजना गरेको अनेसास कविता महोत्सव भर्चूअल प्रविधिका माध्यमबाट सम्पन्न गरिएको छ ।

अनेसासले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका सन्दर्भमा हरेक वर्ष आयोजना गर्दै आएको कविता महोत्सवमा गंगा पोखरेलको ‘देश जलिरहेको बेला’ शीर्षकको कविता प्रथम हुन सफल भएको छ । यसैगरी मधु घिमिरेको ‘मेरो यो शीर झुक्दछ सोझै सम्मानका खातिर’ शीर्षकको कविताले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा बादल खरेलको ‘देखेर नेपाल यो’, सुमी पोखरेलको ‘परदेशमा दुखिरहेको देश’ र सुजाता घिमिरे राउतको ‘प्रेमील अुनराग कि मृत्युको धुवा’ शीर्षकका कविताले तृतीय स्थान प्राप्त गर्न सफल भएको निर्णायक नारायण अधिकारीले जानकारी दिए । अधिकारीले महोत्सवमा ८० कविताबाट २८ उत्कृष्ट कविता छनोट भएको पनि जानकारी गराए ।

महोत्सवमा प्रथमले पाँच सय डलर, द्वितीयले तीन सय डलर र तृतीय तीन जना दुई सय डलरसहित पुरस्कृत हुने महासचिव राजु सिटौलाले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि अनेसासका संस्थापक होमनाथ सुवेदीले शब्द थुपारेर मात्र कविता नहुने धारणा राख्दै कविता आयु बढाउने माध्यमसमेत रहेको जिकिर गरे । उनले अनेसास कविता महोत्सवका कविता जेनजी आन्दोलन र माधव घिमिरे केन्द्रित रहनु सुखद् सन्दर्भ भएको बताए ।  प्रमुख अतिथि सुवेदीले काल, समय र परिस्थिति अनुसार आयु कम बढी हुनु फरक कुरा हो तर काव्य साहित्य र साधना रोग घट्ने, आयु बढ्ने एउटा थेरापी रहेको जिकिर गरे ।

अनेसास बोर्ड अफ ट्रस्टीज सभापति पदम विश्वकर्माले नेपाली कविताको श्रीवृद्धिमा राष्ट्रकविले पुर्याएको योगदान र राष्ट्रकविको काव्य साधनालाई स्मरण गरेर प्रतियोगिता आयोजना गरिएको बताए ।

निर्णायक संयोजक प्रा.डा. कृष्णप्रसाद दाहालले अनेसासको कविता महोत्सवमा छनौट भएका कविता, कविताको पाठ्यांश तयार गरे जस्ता रहेको बताए । उनले नयाँ भूपी, हरिभक्त कटुवाल, माधव घिमिरे जन्मिरहेका बताउँदै कविता अन्तरआत्माले बोलाउने धुन भएकाले सबै कविता उत्कृष्ट भएको धारणा व्यक्त गरे ।

राष्ट्रकविका सन्दर्भमा बोल्दै दाहालले भने– ‘काव्य साहित्यका जाज्वल्यमान माधव घिमिरे जस्ता प्रतिभा पुनः कहिले जन्मन्छ भन्न नसके पनि शताब्दीसम्म घिमिरेको योगदान जीवन्त रहने छ ।’

कार्यक्रम संयोजक लालगोपाल सुवेदीले प्रतियोगितालाई निष्पक्ष बनाउन प्रा.डा. कृष्णप्रसाद दाहालको संयोजकत्वमा सीता पाण्डे र नारायण अधिकारीको तीन सदस्यीय निर्णायक समितिले सहजीकरण गरेको जानकारी दिए । साथै महोत्सवमा पुरस्कार प्रायोजन गर्दै सम्पूर्ण दाताप्रति आभार व्यक्त गरे ।

राष्ट्रकविकी छोरी ज्योति पौडेलले कलाको मर्म नै हृदयको मर्म हो भन्ने राष्ट्रकवि माधव घिमिरे फोटोग्राफीको कलामासमेत निकै सचेत रहेको बताइन् ।

अनेसासले कविता प्रतियोगितालाई सुव्यवस्थित, स्तरीय र दीर्घकालीन बनाउन लालगोपाल सुवेदीको संयोजकत्वमा सुदीपभद्र खनाल, गणेश खड्का, पुष्पा खनाल, राजु सिटौलासहितको उपसमिति गठन गरेको समारोहमा जानकारी गराइएको थियो ।

महोत्सवको नतिजा सार्वजनिक भर्चूअल समारोहका बीच दिनेश धरेलले ‘मइन्टोल’, नवराज अधिकारीले ‘यथार्थता’, लक्ष्मण सिटौलाले ‘बाटो र जिन्दगी’, डिकुरा पोखरेलले ‘ग्रामीण शिक्षिका’, गोमा श्रेष्ठले ‘अडानको अमरता’, असफल गौतमले ‘जेनजीको जुत्ता’, मसान उपासकले ‘लागेपछि राहदानीमा छाप’, प्रेमप्रसाद शर्मा पौडेलले ‘राष्ट्रको कहाँ दुख्दै छ घाउँ’, दीपिन सिञ्जापतीले ‘नेपालको सन्दर्भ’, ऋषिबहादुर राइले ‘परदेशीको सुरकेश’, नुरज भट्टराई नदीले ‘जन्मून अझै माधव’, उमा शर्माले ‘अन्तिम युद्ध’ लोकहरि पाण्डेय क्षितिजले ‘मानवताको स्खलन’, सुन्दर श्रीसले ‘देशलाई सञ्चो छैन’, नरोत्तम श्रेष्ठले ‘ज्वालाभित्रको मौन झिल्का’, शान्ति सापकोटाले ‘जान्न नेपाल छाडी’, डिबी सिकारुले ‘अबको परिवर्तन शान्तिको बाटो भएर आउनुपर्छ’, गौतम मनिषीले ‘आनन्दको सागर’, पशुपति घिमिरेले ‘पहाडको कोसेली’ र महान त्यागीले ‘रङ्गको ओजन’ शीर्षकको कविता सुनाए ।

अध्यक्षको आसनबाट बोल्दै अनेसासका १७ औं केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले राष्ट्रकविको योगदानलाई जीवन्त राख्न आयोजना गरिएको अनेसास कविता महोत्सव  सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै कार्यसमितिले देखाएको सदासयताप्रति आभार व्यक्त गरे ।

उनले अनेसासका हरेक कार्यक्रम निष्पक्ष हुने गरेको जिकीर गर्दै कलमको इतिहासले प्रतिपक्षको भूमिका निर्वाह गर्ने यिनै कवि र कविताले राष्ट्र परिवर्तन गरिरहेको इतिहासलाई जीवन्त राख्न अनेसास लागिरहेको धारणा राखे ।

Facebook Comments