MONDAY OCT 13, 2025

प्रधानमन्त्रीद्वारा पदभार ग्रहण, आन्दोलनमा सहादत प्राप्तलाई शहीद घोषणासहित १० लाख सहयोग

२९ भदौ, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आइतवार बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

जेनजी आन्दोलनमा सहादत प्राप्तलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेको जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।

उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलवारको आन्दोलनबाट आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन् । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आइतवार बिहान मात्रै ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरूको पनि सनाखत हुन सकेको छैन । यससँगै मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

Facebook Comments