आठौं इक्यान एजुकेसन फेयर शुरू

२१ भदौ, पोखरा । नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्कीको आयोजनामा शुक्रवारदेखि आठौं इक्यान एजुकेसन फेयर शुरू भएको छ ।
मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए ।
उनले नेपालको शिक्षा क्षेत्र राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउँदै विश्वव्यापी रूपमा बदलिँदै गएको ज्ञान र सीपसँग कदम मिलाउन गुणस्तरीय शिक्षा अपरिहार्य रहेकोमा जोड दिए ।
उनले थपे सरकारको प्राथमिकता देशमै उच्चस्तरीय शैक्षिक अवसर विस्तार गर्नु, प्रविधि र सीपमूलक शिक्षालाई प्रोत्साहन गर्नु र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज, पारदर्शी र सुरक्षित वातावरण सुनिश्चित गर्नु भए तापनि विद्यार्थीलाई भाषा र व्यावसायिक सीपमा मजबुत भएर मात्र विदेश जान सुझाव दिए ।
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले कोभिड महामारीका कारण केही वर्षदेखि मेलालाई निरन्तरता दिन नसकेको जानकारी गराउँदै विदेश जाने विद्यार्थीलाई सत्य, तथ्य परामर्श र अभिभावकीय भूमिका आवश्यक रहने भएकाले विदेश जानुअघि त्यहाँको नीति नियम, भिसा प्रक्रिया र कलेजबारे पूर्ण जानकारी गराउन लागिपरेको बताए ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले यस्ता गतिविधिहरू पछिल्ला दिनमा विभिन्न प्रदेश र जिल्लाहरूमा सञ्चालन गरी सहजीकरण गर्दै आएको जानकारी दिए ।
इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले काठमाडौंमा २९ औं स्थापना दिवस मनाइरहँदा इक्यानले विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभई, उनीहरूलाई नेपालको विकासक्रममा फर्काउने प्रयास पनि गरेको बताए ।
इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा पोखराको इक्यान मेला स्थापित भएको उल्लेख गरे ।
इक्यानका पूर्व केन्द्रीय अध्यक्ष दीपक गुरुङले इक्यानका सदस्य रहेका परामर्श केन्द्रबाट मात्र आवेदन दिन विद्यार्थीलाई आग्रह गर्दै कुनै समस्या परे इक्यान सहयोगी बन्ने बताए ।
इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षत्रीले नेपालभर हाल सातसय २० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती संस्थाबाट विश्वसनीय सेवा लिन सकिने बताए ।
टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई भव्य बनाउन सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था र ब्रिटिस काउन्सिलसहित ६५ वटा स्टल रहेका छन् ।
मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्रमार्फत् ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकटलगायत आकर्षक उपहार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । इक्यानले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर आयोजना गरेको मेला गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला भएको आयोजकको दाबी रहेको छ ।
मेलाका संयोजक इक्यान कास्कीउपाध्यक्ष सन्तोष शाहीले स्वागत रहेको कार्यक्रमको सञ्चालन इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले गरेका थिए ।
ब्रिटिस काउन्सिल नेपालको सहकार्य रहेको मेला शनिवार सम्पन्न हुँदै छ । फेयर टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायरमा सञ्चालित मेलाको पावर्ड बाइमा बेलायतस्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् । यसको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् ।