MONDAY OCT 13, 2025

पदमको ‘पाताल’ परिचर्चा

१९, भदौ काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टी अध्यक्ष वरिष्ठ साहित्यकार पदम विश्वकर्माको  पाताल उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वराजदूत कवि भीम उदासले द्वन्द्व, अवसर र रोजगारीको अभावमा गैरकानूनी रूपमा अमेरिका जानेहरू चारैतिरबाट शोषणमा परेको उठाउनै पर्ने संवेदनशील विषयलाई उपन्यासले उठाएको भन्दै सर्जकलाई बधाई ज्ञापन गरे ।

प्रा.डा. सुरेन्द्र केसीले नेपालीले भोगिरहेको पीडाप्रति राजनीतिक दल र नेताहरू संवेदनशील नभएको धारणा राखे ।

समालोचक प्रमोद प्रधानले २०५२ सालपछि सर्वसाधारण नेपालीले भोगेका र भोगिरहेका त्रासदी र पीडादायी अवस्थालाई पाताल उपन्यासले अभिलेखीकरण भएको चर्चा गरे ।

आख्यानकार नयनराज पाण्डेले पाताल उपन्यासको राम्रो चलचित्र बन्नसक्ने बताउँदै साहित्यिक कृतिको चलचित्र बनाउन जोखिम भने हुने उल्लेख गरे ।

निबन्धकार मोमिलाले पाताल उपन्यासमा देखाइएको पीडा, दुःख र त्रासले पाठकलाई मर्माहत बनाउने बताउँदै पुस्तक राम्रो भएको विचार व्यक्त गरिन् ।

शारदा मासिकका सम्पादक विमल भौकाजीले उपन्यासमा पाठकलाई तान्ने क्षमता रहेको विचार व्यक्त गर्दै उपन्यासमा अध्यायको शीर्षक राख्दा कौतूहल समाप्त हुने भएकोले उपन्यासकारहरूले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले पाताल सफल उपन्यास भएकाले यसले नेपाली उपन्यासका क्षेत्रमा आफ्नो स्थान सुरक्षित राख्ने विश्वास व्यक्त गरे ।

डा शान्तिमाया गिरीले उपन्यासले अहिलेको अत्यन्त संवेदनशील विषयलाई उठाएकोमा खुसी व्यक्त गरिन् ।

संघका कोषाध्यक्ष पद्यमावती सिंहले सहजीकरण गरेको कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रम डालो रेस्टुरेन्ट अनामनगर, काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा कृतिकार पदम विश्वकर्माले अनलाइनबाट धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा साहित्यकार हिरण्यकुमारी पाठक, मधुवन पौडेल, पवन आलोक, खेमनाथ दाहाल, युवराज नयाँघरे, युवराज मैनाली, नरेन्द्रराज पौडेल, विजध्वज थापा, ललिता दोषी, मथुरा श्रेष्ठ, पारशप्रकाश नेपाल, प्रद्युम्न जोशी, सविता ढुंगाना, सुमन वर्षा, शकुन्तला जोशी, इरमेश दाहाल, डी। आर। राई, रितु कँडेल, राधा भण्डारी, डा बुनु दाहाल, श्रीबाबु कार्की, हरिश कल्पित, जीवनकुमार श्रेष्ठ, शकुन्तला जोशी, छविरमण सिलवाल, प्रदीप सापकोटा, राजन नेउपाने, राज रजक, नीता श्रेष्ठ, हेमा मानन्धर, दिलकुमार महर्जन, देवेन्द्र के। सी।, रश्मि रिमाल, तेजेन्द्र प्रसाईं, कृष्णमाया विश्वकर्मा, सुमित्रा विश्वकर्मा, जीवनाथ पोखरेललगायतको भौतिक उपस्थिति थियो ।

Facebook Comments