MONDAY OCT 13, 2025

ठूलाडिही–पोखरा सम्पर्क मञ्चमा विविध कार्यक्रम

९ भदौ, पोखरा । ठूलाडिही–पोखरा सम्पर्क मञ्चद्वारा दिदीबहिनी भेटघाट, वित्तीय साक्षरता एवम् सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री सीता कुमारी सुन्दासले एउटै आगनीमा खाइखेलेका आमा दिदीबहिनीसँगै एकै थलोमा भेट्न पाउँदा मन प्रफुल्लित भएको बताइन् ।

उनले वित्तीय साक्षरता र जिल्लावासी आमाबुबाको सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि बायोमेट्रिक सुविधासमेत पोखरामै उपलब्ध गराउनु सराहनीय कार्य भएको भन्दै संस्थाले एक कार्यक्रम अनेक काम गरेको बताइन् ।

संस्थाका सल्लाहकार वरिष्ठ अधिवक्ता सुरेन्द्रबहादुर थापाले सामाजिक भत्ता नवीकरण प्रयोजनमा देखिएको अस्तव्यस्ततालाई संस्थाले सहज रूपमा पूर्णता दिएकोमा आभार व्यक्त गरे ।

सो अवसरमा ५४ जना आमाबुबाले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका संस्थाका कोषाध्यक्ष झम्कनाथ पोखरेलले जानकारी दिए ।

अध्यक्षको आसनबाट बोल्दै संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले सामाजिक सुरक्षा भत्ताका लागि बायोमेट्रिक नवीकरण गराउने कार्यमा संस्थाको आग्रहलाई स्वीकारेर पोखरामै सहजता प्रदान गर्नुहुने पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, वार्ड नं ७ का अध्यक्ष कृष्णबहादुर आले र वडासचिव हेमकान्त रेग्मी, रामचन्द्र रेग्मीप्रति आभार व्यक्त गरे ।

संस्थाका सचिव हरि नेपालले आगामी दिनमा पनि यसैगरी संस्थाका कार्यक्रम सफल पर्न कार्यकारी सदस्य, सल्लाहकार, आजीवन सदस्य तथा सम्पूर्ण ठूलाडिहीवासीको साथ र सहयोग मिल्नेमा विश्वास राखे ।

Facebook Comments