MONDAY OCT 13, 2025

रक्तदान स्वयंको पनि हित हो : प्रदेश प्रमुख भट्ट

८ भदौ, पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताएका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले रक्तदान कार्यक्रम मानवीय धर्म र सामाजिक कर्म जोडिएको पवित्र कार्य रहेको बताए ।

स्वेच्छिक रक्तदान एउटा महत्त्वपूर्ण मानवीय र सामाजिक सेवा हो । यस्ता कार्यक्रमले युवा पुस्तामा मानव सेवा र रक्तदानको महत्त्वका बारेमा जागरुकता फैलाउन पनि उत्तिकै मद्धत गर्दछ ।’ उनले भने ।

संस्थाले मानवीय सेवा, एकता र करुणाको भावनालाई बढावा दिन यस्ता प्रकृतिको कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गर्दै यस कार्यलाई पवित्र र समाजसेवामूलक कार्यका रूपमा आफूले लिएको बताए ।

शाखा प्रमुख ब्रह्माकुमारी अमृत दिदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा वडा नं. ७ अध्यक्ष राममोहन आचार्य, समाजका अग्रज देवराज चालिसे, संस्थाका महासचिव ब्रह्माकुमार शैलेषराज बराल लगायतले बोलेका थिए ।

कार्यक्रममा लेकसाइड शाखा प्रमुख पुनम दिदीले धन्यवाद ज्ञापन र छोरेपाटन शाखा प्रमुख ब्रह्माकुमारी दीपा दिदीले सञ्चालन गरेकी थिइन् ।

संस्थाका अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिको १८ औं पुण्य स्मृति तथा विश्व भातृत्व दिवसको अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवाकेन्द्रले भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविर आयोजना गरेको सो अवसरमा जानकारी गराइयो ।

Facebook Comments