MONDAY OCT 13, 2025

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार गुरुङको हिउँको गीतलाई

५ भदौ, पोखरा । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१ उपन्यासकार तीर्थ गुरुङको हिउको गीतले जित्न सफल भएको छ ।

कवि डाँडा साहित्य समाजकाद्वारा जारी अध्यक्ष एलबी क्षत्री हस्ताक्षरित विज्ञप्तिका अनुसार  पुरस्कारको छोटो सूचीमा छनोट भएका पाँच उत्कृष्ट आख्यान कृतिमध्ये गुरुङको कृतिलाई प्रदान गर्ने निर्णय गरेको हो ।

उत्कृष्ट आख्यान कृतिका सूचीमा छुदेन काविमोको ‘उरमाल’, पंचम अधिकारीको ‘प्रवासीको देश हुन्न’श्रीधर खनालको ‘सावर्णि’ र सरस्वती प्रतीक्षाको ‘स्व’ अन्तिम प्रतिस्पर्धामा रहेका थिए ।

समकालीन नेपाली आख्यान साहित्यमा उल्लेख्य योगदानका आधारमा प्रदान गरिने पुरस्कारको राशि एक लाख पच्चीस हजार रुपैयाँ रहेको छ ।
गुरुङको हिउँको गीत उपन्यास हिमाली क्षेत्रको जीवनशैली, संस्कृति र त्यस भित्रको सामाजिक गतिशीलता झल्काउने आख्यान हो। जहाँ गुरुङले हिमाली जनजीवनको सौन्दर्य मात्र होइन, त्यहाँ विद्यमान विसङ्गतिहरूलाई पनि कलात्मक ढंगले उजागर गरेका छन् ।

कथाको हिउँ, गीत, मौनता र सङ्घर्षले पाठकलाई मनोभावनात्मक रूपमा छुँदै अगाडि बढेको उक्त आख्यानमा कवितात्मक भाषाका साथै कथामा गहिरो सामाजिक सन्देश अभिव्यक्त भएको पाइन्छ ।

स्मरण रहोस्, मदन पुरस्कार गुठीले २०८१ को मदन पुरस्कारका लागि सार्वजनिक सात पुस्तकमा गुरुङको हिउँको गीत पनि परेको छ ।

पोखरामा रहेर लामो समयदेखि लेखनमा सक्रिय साहित्यकार तीर्थ गुरुङको यो दोस्रो उपन्यास हो । आयो गोर्खालीका अनुवादकसमेत रहेका उनका यस अघि उनका ‘पाठशाला’ उपन्यास र ‘आप्पा क्हार्प’ कथाकृति प्रकाशित भइसकेका छन् ।

गुरुङ समुदायको प्रतिनिधित्व गर्दै मूलधारको साहित्य लेखनमा सक्रिय तीर्थ गुरुङको ‘पाठशाला’ उपन्यास पनि मदन पुरस्कारमा मनोनित भएको थियो । ‘आपा क्हार्पा’ गुरुङ जातिको संस्कृतिलाई समेटेर लेखिएको पहिलो आख्यान कृति हो ।

Facebook Comments