MONDAY OCT 13, 2025

युवा वर्ष मोती पुरस्कार २०८२ छन्दमणिलाई

३ भदौ, पोखरा । युवा वर्ष मोती पुरस्कार २०८२ बाट साहित्यकार छन्दमणि (शंकरमणि त्रिपाठी ) पुरस्कृत हुने भएका छन् ।

पिता कमलमणि त्रिपाठी र माता लक्ष्मी त्रिपाठीका कोखबाट पोखरा २५ हेमजामा जन्मेका छन्दमणि २०५३ सालदेखि साहित्य यात्रामा क्रियाशील छन् ।

उनका नयाँ नेपाल महाकाव्य, छन्द बहरका शब्दलहर शास्त्रीय गजलसङ्ग्रह, तरङ्गका अभिव्यक्ति कवितासङ्ग्रह, देशको अनुसूची कवितासङ्ग्रह प्रकाशित छन् । उनीसँग शान्तिदीप त्रैमासिक, हिमशिखर वार्षिकलगायत विभिन्न अभिनन्दन ग्रन्थ, स्मारिका र विशेषाङ्क सम्पादनको अनुभवसमेत रहेको छ ।
२०६६ सालमा ब्रिलियन्ट रत्न पुरस्कारबाट विभूषित छन्दमणि हेमजा साहित्य प्रतिष्ठान नेपालका पूर्व अध्यक्षसमेत हुन् ।

उनीसँग नेपालश्री पुरस्कार कोष, मुकुन्दशरण वाङ्मय परिषद्, माछापुच्छे« वाङ्मय परिषद्, हेमजा युनाइटेड, नेपाल काव्य संस्कृति प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, बहुउद्देश्यीय सामाजिक विकास संस्था, माधव वियोगी वाङ्मय प्रतिष्ठान, जागरण अभियान नेपालमा विभिन्न भूमिकामा रहेर साहित्यिक योगदान गरेको अनुभवसमेत रहेको छ ।

ज्ञानसागर एकेडेमीका प्राचार्यसमेत रहेका त्रिपाठीलाई प्रा.डा. माधवप्रसाद पोखरेलको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले छन्दमणिलाई उक्त पुरस्कारका लागि सिफारिस गरेको राष्ट्रिय युवा सेवा कोषका सदस्यसचिव डा. विष्णुबहादुर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments